फागुन ५, काठमाडौँ। काठमाडौँ महानगरपालिकाले आफ्ना सबै स्थायी दरबन्दीका कर्मचारीको एक तहरस्तर बढुवा गरेको छ । महानगरपालिकाले कर्मचारी समायोजन ऐन २०७७ जारी गर्दै श्रेणीविहीन र सबै श्रेणीका कर्मचारीको समायोजनको निर्णय गरेको हो ।
महानगरको नगर परिषद बैठकले सो ऐन पारित गरेलगत्तै मंगलबार सबै कर्मचारीको एक तहरस्तर बढुवा भएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञावालीले जानकारी दिए ।यसअनुसार करिब एक हजार ८ सय कर्मचारीको एकैपटक बढुवा भएको उहाँले जानकारी दिनुभयो ।
हाल संघबाट पाँच वर्ष सेवा अवधि पुरा गरेका शाखा अधिकृत महानगरमा आठौं, ५ वर्ष सेवा अवधि नपुगेका उपसचिव नवौं र ५ वर्षभन्दा बढी सेवा अवधि पार गरेका उपसचिव दशौं तहमा कार्यरत छन् । तर, महानगरमा २० वर्षअघि भर्ना भएका कर्मचारीहरु अहिले पनि आठौं तहमा रहेपछि महानगरका कर्मचारीले असन्तुष्टि जनाउँदै आएका थिए ।
यसरी समायोजन भएपछि सबै कर्मचारीको तलब भत्ता पनि स्वतः बढेको छ । यसअनुसार महानगरपालिकालाई महिनामा करिब ३० लाख रुपैयाँ थप वित्तीय भार थपिएको छ । कर्मचारी समायोजनले वर्षमा करिब ३ करोड ६० लाख रुपैयाँ अतिरिक्त भार थपिएको छ ।