• २०८३ बैशाख १९ गते शनिवार

अमेरिकाका सबै राज्यमा उच्च सुरक्षा सतर्कता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ४, एजेन्सी । राष्ट्रपतिका रूपमा जो बाइडनले पदभार ग्रहण गर्नुअघि हिंसात्मक प्रदर्शन हुन सक्ने आशङ्कामा अमेरिकाका सबै राज्यमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।

बाइडनले बुधवार पदभार ग्रहण गर्दै हुनुहुन्छ । संसद्‌मा भिड पसेको दिन जस्तै हिंसात्मक प्रदर्शन नहोस् भनेर राजधानी वासिङ्टन डीसीमा न्याश्नल गार्ड्स परिचालन गरिएको छ । बीबीसीका अनुसार सबै ५० राज्यमा राष्ट्रपति डोनल्ड ट्रम्पका समर्थकले प्रदर्शन गर्न सक्ने सङ्घीय जाँच ब्यूरो एफबीआईले चेतावनी दिएको छ ।

शुक्रवार वासिङ्टन डीसी एक जना मानिस हतियारसहित पक्राउ परेका थिए । भर्जीनिया राज्यका ती मानिसले बन्दुक र ५०९ राउन्ड गोली बोकेका थिए । राष्ट्रपतिको सुरक्षार्थ खटिने निकायको अनुरोधमा राष्ट्रपतिको शपथ ग्रहण गर्दा जम्मा हुने हजारौँ सर्वसाधारणलाई रोक्ने प्रयास गरिएको छ।

कोभिड-१९ महामारीकाबीच बुधवार हुने समारोहमा सहभागी हुनका लागि देशभरबाट यात्रा नगर्न सर्वसाधारणहरूलाई बाइडनको टोलीले आग्रह गरेको छ । स्थानीय अधिकारीहरूले सर्वसाधारणलाई घरैबाट उक्त कार्यक्रम हेर्न भनेका छन् । राष्ट्रपति ट्रम्प अमेरिकी इतिहासमा दुई पटक महाभियोग लाग्ने पहिलो राष्ट्रपति बने लगत्तै अमेरिकामा सुरक्षा सतर्कता बढाइएको हो । अमेरिकी संसद् भवनमा विध्वंस भएसँगै तल्लो सदनले ट्रम्पविरुद्ध महाभियोग लगाएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस