• २०८३ असार १ गते सोमवार

विभिन्न ठाउँबाट अवैध लागूऔषध सहित पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : ३ मिनेट

श्रावण १, काठमाडौं । सर्लाही, हरिवन नगरपालिका-२ अत्रौली खोला नजिकबाट करिब ७७ किलो अवैध लागूऔषध गाँजा सहित हरिवन नगरपालिका-२ बस्ने ३० वर्षीय अशोक कुमार लामालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

अपरिचित ३ जनाले प्लाष्टिकको बोरामा काँधमा र लामाले बा-५२ प १९३२ नम्बरको मोटरसाइकलमा गाँजा ल्याउँदै गरेको अवस्थामा प्रदेश प्रहरी कार्यालय जनकपुर र ईलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीलाई देख्नासाथ मकै बारीमा बोरा फाली ३ जना फरार भएपश्चात बोरा जाँच गर्दा उक्त गाँजा फेला पारी मोटरसाइकल चालक लामालाई पक्राउ गरेको हो । हाल फरार अन्य ३ जनाको प्रहरीले खोजी गरिरहेको छ ।

पर्सा, वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट नियन्त्रित लागूऔषध १ सय ५० एम्पुल नुर्फिन, १ सय ४८ एम्पुल डाइजेपाम र १ सय ५० एम्पुल फेनारगन सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काभ्रे बनेपा नगरपालिका-१० बस्ने २७ वर्षीय सविन हुमागाई र साँगा नगरपालिका-१३ बस्ने ४४ वर्षीय कृष्ण खड्का रहेका छन् । शंकास्पद रुपमा पदैल हिँडिरहेका उनीहरुलाई लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंज र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले जाँच गर्दा पाईन्टको कम्मर पेटीमा बेरी ल्याएको उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

झापा, भद्रपुर नगरपालिका-३ देउनिया पुल नजिकबाट १२ ग्राम ४ सय ५० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित बिर्तामोड नगरपालिका-३ बस्ने २२ वर्षीय चन्दन रजकलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मे-९ प २०८० नम्बरको मोटरसाइकललाई सिमा प्रहरी चौकी पृथ्वीनगर र बिओपि पृथ्बीनगरबाट संयुक्त रुपमा गस्तीमा खटिएको प्रहरीले टोलीले जाँच गर्ने क्रममा उनको साथबाट उक्त पदार्थ सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

कैलाली, टीकापुर नगरपालिका-६ नारायणपुर शिबिरबाट करिब १५ ग्राम ५६ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिन धुलो पदार्थ सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका-७ बैदी बस्ने ३६ वर्षीय लोकेन्द्र साउँद र सोही ठाउँ बस्ने २८ वर्षीय धन सिंह सुनार रहेका छन् । सोही ठाउँस्थित खोका पसल अगाडि लागुऔषध औषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय टिकापुर र प्रहरी चौकी सत्तीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

दाङ, लमही नगरपालिका-९ तल्लो अमिलिया चोकबाट करिब १ सय १३ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बाँके जानकी गाउँपालिका-३ मुक्ति नगर बस्ने ३६ वर्षीय राजा योगी र डुडुवा गाउँपालिका-९ खडैचा बस्ने ३० वर्षीय राजु दर्जी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङ र इलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुको साथबाट उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस