जेठ २, बाँके । पश्चिम नेपालकै गम्भीर संक्रमितको उपचार गर्दै आएका बाँकेका दुई अस्पतालमा थप आठ जना संक्रमितको उपचारकै क्रममा मृत्यु भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार कोरोना भाइरस संक्रमित बिरामीहरुको उपचार भैरहेको नेपालगञ्जस्थित भेरी अस्पतालमा छ जना र नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा दुई जना गरि थप आठ जनाको कोभिड संक्रमणका कारण मृत्यु भएको छ ।
जिल्लाका कोरोना फोकल पर्सन तेज ओलीले मृत्यु हुनेहरुमा मधुवन नगरपालिका–९ बर्दियाका ७१ वर्षिय पुरुष, बढैयाताल गाउँपालिका–१ बर्दियाका ५० वर्षिय पुरुष, गौरीगंगा गाउँपालिका–४ बाँकेका ५२ वर्षिय पुरुष, रुम्टिगढी–३ रोल्पाका ३५ वर्षिय पुरुष रहेको बताउनुभयो ।
त्यस्तै संक्रमणकै कारण बढैयाताल गाउँपालिका–२ बर्दियाका ८७ वर्षिय पुरुष, नेपालगञ्ज उपमहानगरपालिका–१९ बाँकेका ६० वर्षिय पुरुष र कोहलपुर नगरपालिका–१५ का ६७ वर्षिय पुरुष र राप्तीसोनारी गाउँपालिका २ बाँकेका ५२ वर्षिया महिलाको समेत कोभिड संक्रमणका कारण उपचारका क्रममा मृत्यु भएको उहाँले बताउनुभयो ।
योसँगै जिल्लामा कोरोना भाइरस संक्रमणका कारण उपचारका लागि जिल्ला बाहिरबाट आएका १८३ जना र जिल्लाकै २३५ जनाले हालसम्म ज्यान गुमाईसकेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।