जेठ २, काठमाडौँ । नेपालबाट अन्तर्राष्ट्रिय उडान बन्द हुँदा र नेपालीको मुख्य श्रम गन्तव्य मुलुकले नेपालीलाई प्रवेश रोक लगाउँदा वैदेशिक रोजगारी प्रभावित भएको छ । नयाँ स्वरूपसहित दोस्रो लहरमा फैलिएको कोरोना भाइरस रोकथामका लागि नेपाल सरकारले अन्तर्राष्ट्रिय उडान बन्द र मुख्य श्रम गन्तव्य मुलुकले नेपालीलाई प्रवेशमा लगाएको रोकले रोजगारी प्रभावित भएको हो ।
उडान बन्दका कारण श्रम स्वीकृति लिएर विदेश जाने तयारीमा रहेकाहरू स्वदेशमै रोकिएका छन् भने विदेशबाट बिदा करार अवधि सकिएर घर फर्कन टिकट काटिसकेकाहरू विदेशमै रोकिएका छन् ।
यूएईले नेपालीलाई प्रवेशमा रोक लगाएको छ, हाम्रो देशले पनि सबै अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ । वैदेशिक रोजगार विभागका अनुसार अन्तर्राष्ट्रिय उडान बन्द हुँदा ती देशबाट घर बिदामा आएका धेरै रोकिएका छन् । मुख्य श्रम गन्तव्य देशले नेपाललाई प्रवेशमा रोक लगाउँदा र हाम्रो देश स्वयंले पनि अन्तर्राष्ट्रिय उडान बन्द गर्दा घर बिदामा आएका १० हजारभन्दा बढी श्रमिक यतै रोकिएका छन् ।
यस्तै, कतिपय श्रमिक गन्तव्य देशमा करार र भिसा सकिएर पनि उडान नभएका कारण स्वदेश आउन पाएका छैनन् । अन्तर्राष्ट्रिय उडान बन्द हुँदा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका श्रमिकको शव स्वदेश फर्काउन पनि समस्या भएको छ । त्यस्तै आममाफी पाएका घरेलु श्रमिक, बिरामी परेका श्रमिक, कैद मुक्त गरेका, गर्भवती, सुत्केरीलाइ स्वदेश फर्कन समस्या भइरहेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम गन्तव्य मुलुक कोरोनाको त्यति जोखिममा नपरिसकेकाले अहिलेसम्म उद्धार गर्नुपर्ने समस्या नआएको जनाएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र निर्देशक समिति ९सीसीएमसी०ले अन्तर्राष्ट्रिय उडान बन्द भएर विदेशमा अलपत्र परेकाको उद्धारको तयारी नभएको जनाएको छ । सीसीएमसीका अनुसार नेपालीका श्रम गन्तव्य मुलुकमा तत्काल कोरोनाका जोखिम नबढेकाले विदेशबाट ल्याउने तयारी छैन । अन्तर्राष्ट्रिय उडान बन्द हुने समय लम्बिएमा भने नेपालीको उद्धारका लागि सरकारले व्यवस्थापन गर्नसक्ने सीसीएमसीले जनाएको छ ।