• २०८३ मङ्सिर ५ गते शुक्रवार

मुगुमा जनगणनाको गणना कार्यालय स्थापना

खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

चैत ०३ मुगु । मुगु जिल्लाको सदरमुकाम गमगढी बजारमा जनगणनाको गणना कार्यालय स्थापना गरिएको छ । यहि आउँदो २०७८ मा हुने जनगणनाको तयारीका लागि मुगुमा गणना कार्यालय स्थापना गरिएको हो । राष्ट्रिय जनगणना, २०७८ का लागि सदरमुकाम गमगढी बजारको माथिल्लो बजारमा जनगणना कार्यालय स्थापना गरिएको हो ।

विसं २०७८ सालमा हुने १२ औँ जनगणनाको तयारीलाई तीव्रता दिन कार्यालय स्थापना गरिएको जिल्ला जनगणना कार्यालयले जानकारी दिएको छ । कार्यालयका अनुसार कार्यालयमा जनगणना अधिकारी र सहायक अधिकारीसहित पाँच जनाको दरबन्दी रहेको जनगणना अधिकारी कृष्ण प्रसाद चैलागाईले जानकारी दिए । उनका अनुसार कार्यालयले जनगणनाका लागि आवश्यक व्यवस्थापन र सञ्चालन गर्नेछ । कार्यालय स्थापनासँगै अब प्रशिक्षक तालिम, स्थानीय जनगणना अधिकृत तालिम सञ्चालन हुने बताए । साथै यस वर्षको मेरो जनगणना , मेरो सहभागिता पनि नारा तय गरिएको छ ।

जनगणनामा खटाइने सुपरिवेक्षक लाई बैशाख १६ गते देखि २२ गते सम्म र गणकलाई जेठ १६ देखि २२ गते सम्म प्रशिक्षण गमगढीमा सञ्चालन हुनेछ । जनगणनामा खटाइने आठ हजार सुपरिवेक्षक र ३९ हजार गणक भर्तीका निम्ति चैत ११ गतेसम्म अनलाइन आवेदन खुला गरिएको छ । मुगुका लागि मात्र १८ सुपरिवेक्षक र ८० गणक माग गरिएको छ । सुपरिवेक्षकका लागि स्नातक र गणकका लागि १२ कक्षा उत्तीर्णले आवेदन दिन पाउनेछन् । जनगणनालाई छिटो, छरितो र विश्वसनीय गराउन वडा तहसम्मै विभिन्न समिति निर्माण गरिने भएको छ ।

त्यसका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला जनगणना समन्वय समिति तथा जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा, उपप्रमुख र जिल्ला भित्रका सबै स्थानीय तहका प्रमुख, उपप्रमुख सदस्य रहने गरी जिल्लास्तरीय जनगणना सहजीकरण संयन्त्र रहनेछ । जिल्लाको स्थानीय तहमा स्थानीय जनगणना समन्वय समिति हुनेछ । सो समितिमा सम्बन्धित स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत वा उनले तोकेका अधिकृत कर्मचारीको संयोजकत्वमा समिति बन्नेछ । त्यस्तै वडास्तरीय जनगणना सहजीकरण समिति रहने छ ।

यो समितिको संयोजकमा सम्बन्धित वडाका वडाअध्यक्ष रहनेछन् । उक्त समितिमा वडा कार्यालयले तोकेको वडाभित्रका विद्यालयका प्रधानाध्यापक, वडाअध्यक्षले तोकेको वडा सदस्य, वडाअध्यक्षले तोकेको महिला वडा सदस्य र वडा सचिव रहनेछन् ।

Sharing

प्रतिक्रिया दिनुहोस