• २०८३ बैशाख ६ गते आइतवार

दिक्तेलमा एकैदिन नौवटा कार्यक्रम उद्घाटन

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

चैत ३, खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कमा नौवटा कार्यक्रम एकैसाथ उद्घाटन गरिएको छ । वडा कार्यालय, स्वास्थ्यचौकी, चम्पावती मावि र महिला समूहको भवन तथा कम्प्युटर ल्याब, सरस्वती मन्दिर, विद्यार्थीका लागि नियमित वितरण गरिने दिवाखाजा तथा टिफिन क्यारी र छात्राका लागि स्यानिटरी प्याडसहित नौ कार्यक्रम उद्घाटन गरिएको हो ।

विजयखर्कस्थित वडा कार्यालयको प्राङ्गणमा सोमबार आयोजना गरिएको कार्यक्रममा नगरप्रमुख दीपनारायण रिजाल र उपप्रमुख विणादेवी राईले संयुक्तरूपमा नौवटा कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । नगरपालिकाको रु ७० लाखको लागतमा सञ्जीव निर्माण सेवा प्रालिले वडा कार्यालय भवन निर्माणको काम सम्पन्न गरेर निर्माण कम्पनीका प्रतिनिधि लालबहादुर विश्वकर्माले वडाध्यक्ष वीरेन्द्रप्रसाद ढकाललाई उक्त भवनको चाबी हस्तान्तरण गर्नुभएको छ ।

नवनिर्मित विद्यालय भवनभित्र स्थापना गरिएको कम्प्युटर ल्याब र साइन्स ल्याब स्थापना गरिएको छ भने विद्यालयको प्राङ्गणमा सरस्वती मन्दिर स्थापना गरिएको छ । महिला सामुदायिक भवन निर्माणका लागि विभिन्न निकायबाट विभिन्न समयमा गरी रु पाँच लाख प्राप्त भएको वडा सदस्य मनिषा खनालले बताउनुभयो ।

नगरपालिकाले विजयखर्कमा एकैसाथ आयोजना गरेको नौवटा कार्यक्रमको उद्घाटनमा स्थानीय बासिन्दाको समेत उल्लेख्य उपस्थिति थियो । जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, पत्रकारलगायत सहभागी कार्यक्रममा स्थानीय कलाकारको सांस्कृतिक प्रस्तुतिसमेत रहेको थियो । भौतिक पूर्वााधार निर्माणमा सबैभन्दा अगाडि देखिएको उक्त वडामा सम्पूर्ण सुविधासहितका नयाँ भवन निर्माण सम्पन्न गरेर सञ्चालनमा आएपछि स्थानीय सरकारको अनुभूति भएको स्थानीय बासिन्दाले बताएका छन् । पन्ध्र वडा रहेको यस नगरपालिकामा यस वर्ष भौतिक पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकता दिइएको छ ।

जिल्लाको १० स्थानीय तहमध्ये सबैभन्दा ठूलो यो नगरपालिकामा यस वर्ष १५ मध्ये ११ वटा वडामा एउटै किसिमको भवन निर्माण भइरहेको छ । एउटा वडाका लागि रु ७० लाखका दरले बजेट विनियोजन गरिएको छ । एउटै किसिमको सबै वडा कार्यालय भवन यही चैत मसान्तभित्र सम्पन्न हुने नगरप्रमुख रिजालले बताउनुभएको छ । नगरपालिकामा निर्माणाधीन वडा कार्यालय भवन निर्माणको काम अन्तिम चरणमा पुगेको जनाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस