• २०८२ साउन ४ गते शनिवार

स्थानीय तहले सम्भावनाको खोजी गर्नुपर्छ : मन्त्री झाँक्री

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

मंसिर २९, काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले स्थानीय तहले आफ्ना ठाउँको सम्भावना पहिल्याउनुपर्ने बताउनुभएको छ । आज महोत्तरीको धार्मिकस्थल मटिहानीका देवस्थलको दर्शन र पूजा, आराधना एवं अवलोकनपछि मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलसहितका जनप्रतिनिधि र सञ्चारकर्मीसँग मन्त्री झाँक्रीले स्थानीयतहको प्रयत्नमा सङ्घीय सरकारको साथ रहने उल्लेख गर्नुभयो । मन्त्री झाँक्रीले मटिहानी–७ स्थित श्री लक्ष्मीनारायण मठको अवलोकन गर्न सँगै भगवान लक्ष्मीनारायणको दर्शन र पूजा, आराधना गर्नुभयो ।

मटिहानी भ्रमणका क्रममा मन्त्री झाँक्रीले अति पुरानो पुरातात्विक महत्वको लक्ष्मीसागर तलाउको अवलोकन गर्नुभयो । लक्ष्मीसागर अघि त्रेता युगमा रामसीताको विवाहमा वेदि बनाउन माटो खनिएको ठाउँ भएको विश्वास गरिन्छ । मन्त्री झाँक्रीले मटिहानी धार्मिकस्थलका रुपमा परिचित ठाउँ भएको हुँदा यस ठाउँको विकासका लागि धार्मिक पर्यटनभित्रका विविध सम्भावनाको खोजी गर्न स्थानीय जनप्रतिनिधिलाई सुझाव दिनुभयो ।

“यो मटिहानी त्रेता युगकालीन कथानकसँग जोडिएको पवित्रस्थलका रुपमा परिचित छ”, मन्त्री झाँक्रीले भन्नुभयो, “यो इतिहास र जनविश्वासलाई टेकेर धार्मिक पर्यटन विकासको सम्भावना पहिल्याउनुहोस्, सरकार तपाईहरूका साथमा छ ।” उहाँले मटिहानीको शहरी विकासका लागि स्थानीय तह र प्रदेश सरकारले पहलकदमी लिनुपर्ने र सङ्घीय सरकारको साथ सहयोग रहने विश्वास दिलाउनुभयो ।

मन्त्री झाँक्रीलाई नगरप्रमुख मण्डलले लक्ष्मीनाराण मठ, लक्ष्मीनारायण मन्दिर र लक्ष्मीसागरको विस्तृत जानकारी गराउँदै आफ्नो नगर संस्कृत शिक्षाको आदि भूमि रहेको बताउनुभयो । मटिहानीमा बालगुरु षडानन्दले शिक्षा आर्जन गर्नुभएको मानिने ३०३ वर्ष पुरानो संस्कृत पाठशाला अहिले राजकीय संस्कृत माध्यमिक विद्यालयका नाउँमा सञ्चालित छ । सँगै यही नै संस्कृततर्फ स्नातकोत्तरसम्म अध्ययन, अध्यापन हुने महामुनि याज्ञवल्क्य र लक्ष्मीनारायण मठको संयुक्त नाउँमा याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठ (संस्कृत क्याम्पस) सञ्चालित छ ।

मन्त्री झाँक्रीले धार्मिक पर्यटनको विकास प्रयत्नमा नगरपालिकाले सम्पन्न गरेको अघि बढाएका योजनाको जानकारी लिनुभयो । उहाँलाई नगरका तर्फबाट नगर प्रमुख मण्डलले दोसल्ला ओढाएर सम्मान गर्नुभयो । मन्त्री झाँक्रीको भ्रमणटोलीमा शहरी विकास मन्त्रालयका सचिब मणिराम गेलालको पनि उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस