भदौ ३०, काठमाडौँ । गतवर्ष जेठदेखि मोटरसाइकल चलाउन थाल्नुभएका डाँछीका दिनेश न्यौपानेसँग अझै चालक अनुमतिपत्र छैन । नयाँ बानेश्वरस्थित एउटा स्वास्थ्य क्लिनिकमा कार्यरत उहाँ डेढवर्ष पहिलेसम्म सार्वजनिक बसमा ओहोरदोहोर गर्नुहुन्थ्यो
विसं २०७६ चैतमा सरकारले जारी गरेको बन्दाबन्दीले सार्वजनिक यातायात बन्द भयो । त्यसपछि भने उहाँले पहिले आफन्तको मागेर र पछि आफैँ किनेर मोटरसाइकल चलाइरहनुभएको छ । मोटरसाइकल चलाएको महिनौँसम्म पनि नयाँ चालक अनुमतिपत्रका लागि आवेदन नखुल्दा न्यौपानेले भर्न पाउनुभएन । गत पुसमा आवेदन खुलेपनि प्राविधिक समस्याले गर्दा पुस र माघ महिनामा पटकपटक प्रयास गरेपनि भर्न नसकेको उहाँले बताउनुभयो ।
उहाँले फागुन महिनामा आवेदन भर्नुभएको थियो । असार महिनाको अन्तिम सातामा पालो आउने भनेपछि उहाँले लिखित र प्रयोगात्मक परीक्षाका लागि तयारी गर्नुभयो । दोस्रो लहरसहित कोभिड फैलन थालेपछि गत वैशाखमा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी ग¥यो र उहाँको परीक्षाको मिति धकेलियो । साउन महिनामा बन्दाबन्दी हटेसँगै पुनः परीक्षा हुने आशा पलाएको भए पनि चावहिलस्थिथत यातायात कार्यालयको जवाफले निरास बनाएको न्यौपानेले बताउनुभयो । यो डेढ वर्षमा उहाँले एक पटक ट्राफिक प्रहरीको जाँचमा परेर रु एक हजार जरिवाना तिर्नुभएको थियो । आफूसँग अनुमतिपत्र हुँदा ढुक्कले चलाउन पाइने भए पनि अहिले डराएर हिँड्नुपरेको उहाँको दुखेसो छ । उहाँ सकेसम्म ट्राफिक प्रहरीको जाँच नहुने भित्रि सडकमा हिँड्ने गर्नुभएको छ ।
उहाँले भन्नुभयो, “आफूसँग अनुमतिपत्र नहुँदा गाहे भएको छ ।”एकातिर कोभिड र अर्कातिर कार्डको आपूर्ति नहुँदा लामो समयसम्म नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा सञ्चालन भएको छैन । एकातिर सेवाग्राहीले चाहेर पनि अनुमतिपत्र बनाउन पाएका छैनन् भने त्यही अनुमतिपत्र नभएको भन्दै ट्राफिक प्रहरीले जरिवाना गर्दै आएको छ । पटकपटक कोभिडका कारण भन्दै प्रशासनले सार्वजनिक यातायात बन्द गर्दा काठमाडौँ उपत्यकामा निजी सवारीसाधन चढ्ने बढ्दैछन् । ट्राफिक प्रहरीले भने कोभिडका कारणले जाँच कम गर्न प्रहरी प्रधान कार्यालयबाट निर्देशन आएकाले त्यसैका आधारमा कम गरिएको जनाएको छ । देशरभमा सङ्क्रमण बढीरहँदा जाँच कम भएको ट्रफिक प्रहरी महाशाखाका प्रवक्ता सञ्जिव शर्मा दासले बताउनुभयो । अहिले पुनः जाँच बढाउने गरी योजना बनाइएको छ । उहाँले भन्नुभयो, “कोभिड सङ्क्रमण बढीरहँदा हामी मास्कको प्रयोगबारे चेतना फैलाउनेलगायतका अरु जिम्मेवारी पूरा गर्न लागेका थियौँ अब पुनः जाँच बढाइनेछ ।”
अहिले महाशाखाले दैनिक ६० देखि ८० जनासम्मलाई अनुमतिपत्र नभइ सवारीसाधन चलाएको भनी कारवाही गरिरहेको छ । ट्राफिक प्रहरीले सबैलाई रोकेर जाँच नगरेपनि चालकले सवारीसाधन चलाएको हेरेर टाढाबाट पनि उसँग कागजात छछैन थाहा हुने उहाँको भनाइ छ । उहाँले भनुभयो, “चोकचोकमा खटिएका ट्राफिक प्रहरीले शङ्का लाग्दा जाँच गरिरहेका छन् ।”सरकारले छ वर्ष पहिले ‘स्मार्ट’ चालक अनुमतिपत्र सुरु गरेदेखि नै यसमा समस्या देखिएको छ । एकान्तकुनास्थित कार्यालयबाट सेवा सुरु गरिएकामा यसलाई अरु कार्यालयमा बिस्तार गरेपनि समस्या बढ्न थालेको थियो । त्यसबेला अनुमतिपत्र छाप्ने उपकरणको क्षमताभन्दा बढी सङ्ख्यामा छाप्नु पर्दा सेवाग्राहीले परीक्षा पास गरेको वा नबीकरण गरेको लामो समयसम्म पाएका थिएनन् ।
कार्ड अभावकै कारणले तत्काल नयाँ अनुमतिपत्रका लागि आवेदन नखुलाइने विभागले जनाएको छ । एकाथरी सेवाग्राहीले फारम भर्न पाएका छैनन् भने अर्काथरीले फारम भरेर पनि परीक्षामा सहभागी हुन पाएका छैनन् । परीक्षा पास गरेर वा नवीरकण गरेर अनुमतिपत्र नपाउनेको सङ्ख्या झण्डै सात लाख पुगिसकेको छ । अहिले तत्काल नआउने देखिएकाले त्यति बेलासम्म नयाँ आवेदन नखुलाइने विभागका प्रवक्ता। डा लोकनाथ भुषालले बताउनुभयो । उहाँका अनुसार दशैँ पहिलेसम्म नयाँँका लागि आवेदन खुलाउन नसकिने देखिएको छ । उहाँले भन्नुभयो, “नयाँ आउने कार्ड मास प्रिन्टरमा छापिएमा पुनः खुलाउन सकिनेछ ।”