असार १, काठमाडौँ। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)को प्रभावशाली भातृ संगठन राष्ट्रिय युवा संघले गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री राजिव गुरुङले आफ्नो अभिव्यक्तिलाई क्षमा याचना गरी गल्ती नसुधारेमा भौतिक हिसावले ठिक पार्ने चेतावनी दिएको छ । मन्त्री गुरुङले केही दिन अघि पत्रकारहरुसँगको कुराकानीमा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्धमा आपत्तीजनक अभिव्यक्ति दिनुभएको थियो ।

गएको निर्वाचनमा एमालेकै मतबाट विजयी हुनुभएको मन्त्री गुरुङले प्रधानमन्त्री ओलीको विरुद्धमा अभिव्यक्ति दिई मानहानी, मानिसको जीवन तथा स्वास्थ्य जस्तो गंभिर विषयमा आपत्तीजनक अभिव्यक्ति दिनुभएको थियो ।
सोही प्रशङ्गमा संघले मन्त्री गुरुङको मानसिक अवस्थाको बारेमा समेत गंभिर प्रश्न उठाएको छ । मानसिक सन्तुलन गुमेको भए उपचार गराउन आग्रह गर्दै संघका महासचिव रमेश आचार्यले प्रधानमन्त्री तथा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालको बारेमा मन्त्री गुरुङले दिनुभएको अभिव्यक्तिले ‘अभिव्यक्ति स्वतन्त्रता’को नै धज्जी उडाएको भन्दै आक्रोस जनाउनुभयो ।
महासचिव आचार्यले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘विगत केही दिनदेखि गण्डकी प्रदेशका भौतिक पुर्वाधार मन्त्री राजिव गुरुङले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालका बारेमा अभिव्यक्ति स्वतन्त्रताको धज्जी उडाउने गरि मानसिक सन्तुलन गुमाए व्यक्तिले बोले जसरी बोलिरहेका छन् । हामी राजिव गुरुङलाई सोध्न चाहन्छौं, तिम्रो मानसिक ठिक छ कि छैन ? यदि तिम्रो मानसिक सन्तुलन ठिक छैन भने तिमीले बोलेको कुरामा क्षमा माग्दा क्षमा दिन सकिएला होइन भने तिमीलाई भौतिक हिसाबले ठिक पार्न हामी बाध्य हुनेछौं ।’