जेठ १, मोरङ । मोरङमा थप सात जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ। मोरङको विराट शिक्षण अस्पतालमा एक, विराटनगरको कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्र र नोबेल शिक्षण अस्पतालमा तीन÷तीन जना कोरोना संक्रमितको मृत्यु शुक्रबारसाँझदेखि शनिबार बिहानसम्ममा भएको हो।
नोबेलमा विराटनगर महानगरपालिका–१ का ४५ वर्षीय पुरुषको मृत्यु भएको छ। अस्पतालका अनुसार उपचारकै क्रममा उनको शनिबार बिहान साढे ५ बजे मृत्यु भएको हो। पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएपछि संक्रमित पुरुषलाई उपचारका लागि वैशाख २६ गते अस्पताल भर्ना गरिएको थियो।
विराटनगर–८ का ६४ वर्षीय वृद्ध पुरुषको शुक्रबार राति १०ः१५ बजे नोबेलमै मृत्यु भएको छ। अस्पतालका अनुसार कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि वैशाख २१ गते भर्ना गरिएको थियो। भेन्टिलेटरमा उपचार भइरहेको अवस्थामा वृद्धको मृत्यु भएको हो ।
यस्तै विराटनगर–५ की ५२ वर्षीया महिलाको पनि नोबेलमै उपचारका क्रममा ज्यान गएको छ। उनको बिहान करिब १ बजे मृत्यु भएको हो। अस्पतालका अनुसार महिलालाई उपचारका लागि वैशाख २९ गते भर्ना गरिएको थियो।
कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा एक महिलासहित तीन संक्रमितको मृत्यु भएको छ। मोरङको उर्लाबारी नगरपालिका–७ की ५८ वर्षीया महिलाको शनिबार बिहान मृत्यु भएको छ। कोरोना पुष्टि भएकी महिलालाई उपचारका लागि वैशाख २३ गते भर्ना गरिएको थियो। मृतकमा उच्च रक्तचापको पुरानै समस्या रहेको जनाइएको छ ।
विराटनगर–१० का ७७ वर्षीय वृद्ध पुरुषको पनि कोसीमै शुक्रबार राति मृत्यु भएको छ। कोरोना पुष्टि भएपछि वैशाख २५ गते भर्ना गरिएका वृद्धमा मधुमेह र उच्च रक्तचापको पुरानै समस्या रहेको थियो ।
त्यस्तै विराटनगर–९ का ६७ वर्षीय वृद्ध पुरुषको पनि राति नै उपचारका क्रममा कोसीमा मृत्यु भएको छ। कोरोना संक्रमित उनलाई उपचारका लागि वैशाख ३० गते भर्ना गरिएको थियो।
विराट शिक्षण अस्पतालमा सप्तरी घर भएका कोरोना संक्रमित ५३ वर्षीय पुरुषको शुक्रबार साँझ मृत्यु भएको छ। विराटका कोभिड अस्पतालका अनुसार उपचारका लागि उनलाई बिहान १० बजेतिर मात्रै भर्ना गरिएको थियो। अवस्था गम्भीर रहेका उनको उपचारका क्रममा साँझ ६ बजे मृत्यु भएको हो।