चैत्र ०२, मोरङ । इन्धन ढुवानी गर्ने ट्यांकरकै प्रयोग गरेर विराटनगरबाट भारततिर पेट्रोलीयम पदार्थको तस्करी भइरहेको पुष्टि भएको छ । भारततिर पेट्रोलीयम पदार्थको तस्करी गरिरहेको १ ख ५९१२ नम्बरको ट्यांकरेमा दुई हजार छ सय ५० लिटर डिजेल सहित ट्यांaकरका चालक भारत अररीयास्थित मीरगञ्ज घर भएका १९ वर्षीय इमरोज आलम तथा सह–चालक २६ वर्षीय सजाद आलमलाई पनि पक्राउ गरिएको हो ।

मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार ट्यांकर, पक्राउ परेका चालक र सह–चालक तथा तस्करी गरेर भारत पु¥याउन खोजिएको डिजेल आवश्यक कारबाहीका लागि सोमबार राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाउने तयारी गरिएको छ । भारतको बरौनीबाट इन्धन लिएर विराटनगर आउने ट्यांकरले फर्कदा तस्करीको इन्धन भरेर जाने गरेको पाइएको छ । नेपालमा भन्दा भारतमा डिजेल, पेट्रोल लगायतका पेट्रोलीयम पदार्थ महँगो पर्ने भएकाले नेपालबाट तस्करी हुने गरेको पाइएको निगमले जनाएको छ । प्रदेश १ मा डिजेलको मूल्य प्रति लिटर ९७ रुपैयाँ ५० पैसा र पेट्रोलको एक सय १४ रुपैयाँ ५० पैसा तोकिएको छ । नेपालमा भन्दा भारतमा डिजेल प्रति लिटर ३५ रुपैयाँ ९३ पैसा र पेट्रोल ४२ रुपैयाँ महँगोे रहेका कारण तस्करी हुने गरेको पाइएको छ ।
भारतको बरौनी डिपोबाट २० हजार लिटर पेट्रोल लोड गरेर शुक्रबार विराटनगर आइपुगेको उक्त ट्यांकरलाई पेट्रोल अनलोडका लागि सुनसरीको इटहरी आसपासका चारवटा पेट्रोल पम्पमा पेट्रोल खन्याइसकेर खाली फर्किएको ट्यांकरलाई भारत पठाउनुअघि चाबी लगाउन खोज्दा तस्करीको डिजेल रहेको पुष्टि भएको हो । नेपाल आइपुगेपछि ‘लक’ खोलेर ट्यांकर खाली गर्न पठाएका समयमा बीचबाट कुनै पम्पदेखि इन्धन भरेर तस्करी गर्ने गरेको पाइएको छ । बरौनी डिपोमा इन्धन भर्न पठाउनलाई ‘लक’ गर्न खोज्दा उक्त ट्यांकरमा तस्करीको डिजेल रहेको फेला परेको हो । निगमले ट्यांकरलाई तस्करी गर्नका लागि डिजेल उपलब्ध गराउने पम्पमाथि पनि छानबिन थालेको छ ।
नेपाल आयल निगम प्रदेश १ कार्यालय विराटनगर र प्रहरीको संयुक्त टोलीले इन्धनको तस्करीमा प्रयोग गरिएको ट्यांकरलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको छ ।