साउन, ३० काठमाडौं । नेपालमा बैङ्कसहित विभिन्न व्यक्तिबाट करोडौँ रुपैयाँ ठगी गरेर पोर्चुगल फरार भएका एक व्यक्तिलाई प्रहरी पक्राउ गरेर नेपाल ल्याएको छ । डीएसपी निशान्त श्रीवास्तवको इन्टरपोलको टोली पोर्चुगल पुगेर काभ्रेपलाञ्चोक जिल्ला साबिकको सापिङ गाविस ४ र हालको भुम्लु गाउँपालिका १ का केदार ढुङ्गानालाई पक्राउ गरेर शनिबार नेपाल ल्याएको हो ।
सीआईबीले लामो अनुसन्धान गर्दै २०७५ सालमा तत्कालीन एनडीइपी डेभलपमेण्ट बैङ्क र देव विकास बैङ्क ठगी प्रकरणमा काभ्रेको भुम्लु गाउँपालिका वडा नं १ का नारायणबहादुर श्रेष्ठ, सोही वडाका सदस्यसमेत रहेका बालकृष्ण श्रेष्ठ, चेतबहादुर श्रेष्ठ, विकास श्रेष्ठ, नवीन श्रेष्ठ र काभ्रेकै चौबास–४ घर भएका कृष्णबहादुर खत्रीलाई पक्राउ ग¥यो ।
त्यस्तै पर्साको वीरगञ्ज घर भई ललितपुरको ज्वागल बस्ने नरेशमान सिंह (बैङ्कका भ्यालुएटर) र काठमाडौँ महानगरपालिका–२३ सरिनशंकर श्रेष्ठ (देव विकास बैङ्कका तत्कालीन ब्राञ्च म्यानेजर) लाई पनि प्रहरीले पक्राउ गर्यो । घटनाको मुख्य योजनाकार मानिएका केदार ढुङ्गाना भने फरार भइसकेका थिए । मुख्य योजनाकार एक पात्र अर्थात् केदार ढुङ्गाना, युरोपमा बिजनेस गरेर बसिरहेका थिए।