असार ३०, काठमाडौँ । मन्त्रिपरिषद्को बैठकले सरकारको विभिन्न प्राथमिकता निर्धारण गरेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त हुनुभएपछि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले सबै नागरिकलाई खोप उपलब्ध गराउने निर्णय गरेको हो ।

मंगलबार राति सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले सरकारका प्राथमिकता निर्धारण गरेको सरकार प्रवक्ता एंव कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
उहाका अनुसार शान्ति सुव्यवस्था, कोभिड-१९ को रोकथाम, नियन्त्रण र उपचार, आर्थिक समृद्धि, कोभिड-१९ बाट प्रभावित अर्थतन्त्रको शिघ्र पुनरूत्थान, विकास निर्माण कार्यमा तीव्रता, सार्वजनिक सेवाको प्रभावकारी वितरण, संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढिकरण, विपदको प्राथमिकताका साथ व्यवस्थापन र स्थानीय निर्वाचन रहेका छन्।
मन्त्री कार्कीले परिवर्तित सन्दर्भमा मन्त्रिपरिषद् तथा यसका विभिन्न समितिमा प्रक्रियामा रहेका सम्पूर्ण प्रस्तावहरू सम्बन्धित मन्त्रालयमा फिर्ता पठाउने निर्णय भएको जानकारी दिनुभयो ।