• २०८३ बैशाख ७ गते सोमवार

एमालेमा अध्यक्ष र महासचिव पद मात्रै

पत्रपत्रिका पढ्न लाग्ने समय : ४ मिनेट

फागुन २९, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्रको विवाद झन्झन् बढदै गइरहेको अवस्थामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष र महासचिवबाहेकका सबै पद खारेज गरेको छ । बैठकले पार्टीको १० औं महाधिवेशन २०७८ सालको २ देखि ६ मंसिरमा काठमाडौंमा गर्ने निर्णय गरेको छ ।

बैठकले १०औं महाधिवेशन आयोजक कमिटीसमेत बनाएको छ । महाधिवेशनका लागि बैठकले पार्टीको विधान पनि संशोधन गरेको छ । बैठकले ७ चैतमा अर्को केन्द्रीय कमिटी बैठक राख्ने निर्णय गरेको केन्द्रीय सदस्य राजेन्द्र गौतमले जानकारी दिए । सर्वोच्च अदालतको फैसलासँगै पूर्ववत् अवस्थामा फर्किएको एमालेभित्रको गुटगत भेला तथा आफू अनुकूलका निर्णयले पार्टीभित्रको विवाद चुलिँदै गएको छ ।

पार्टीको केन्द्रीय कमिटीको बैठकले केन्द्रीय कमिटीमा जिम्मेवारी हेरफेर र केन्द्रीय सदस्य मनोनित गरेको छ । तर, त्यसलाई माधवकुमार नेपाल र झलनाथ खनाल समूहले अस्वीकार गर्ने बताएपछि विवाद बढ्ने देखिएको हो । एमाले वरिष्ठ नेताद्वय नेपाल र खनाल समूहलाई जानकारी नै नदिई जिम्मेवारी हेरफेर, मनोनित गरिएपछि विवाद बढेको छ ।

नेपाल र खनाल समूहले यो साता एमाले सांसद र केन्द्रीय सदस्यहरूको छुट्टाछुट्टै गुटगत भेला गरेका थिए । लगतै शुक्रबार अध्यक्ष ओलीले केन्द्रीय सदस्यहरूको बैठक राखी विभिन्न निर्णय गरे । सोही भेलालाई आधिकारिक केन्द्रीय कमिटीको बैठक भन्दै महत्वपूर्ण निर्णय गरेपछि नेपाल र खनाल समूह चिढिएको छ ।

बैठकले नेताहरूको जिम्मेवारीसमेत व्यापक रूपमा फेरबदल गरिएको छ । प्रदेश १ को इन्चार्जमा सुवासचन्द्र नेम्वाङ, अध्यक्षमा देवराज घिमिरे र सचिवमा विनोद ढकाललाई चयन गरिएको छ । यस्तै, प्रदेश २ को इन्चार्जमा सत्यनारायण मण्डल, अध्यक्षमा प्रभु साह, सचिवमा सुमन प्याकुरेल, बागमती प्रदेशको इन्चार्जमा रामबहादुर थापा बादल, अध्यक्षमा आनन्द पोखरेल, सचिवमा खेम लोहनीलाई चयन गरिएको छ ।

गण्डकी प्रदेशको इन्चार्जमा पृथ्वीसुब्बा गुरुङ, अध्यक्षमा जगत विश्वकर्मा, सचिवमा गोविन्द नेपाली, लुम्बिनी प्रदेशको इन्चार्जमा शंकर पोखरेल, अध्यक्षमा लीला गिरी, सचिवमा खेममान खड्का, कर्णाली प्रदेशको इन्चार्जमा यमलाल कँडेल, अध्यक्षमा गुलाबजंग शाह, सचिवमा धर्मराज रेग्मी रहेका छन् ।

सुदूरपश्चिम प्रदेशको इन्चार्जमा लेखराज भट्ट, अध्यक्षमा कर्ण थापा, सचिवमा राजेन्द्रसिंह रावललाई जिम्मेवारी दिइएको छ । यस्तै, स्कुल विभाग प्रमुखमा ओली, संगठन विभाग प्रमुखमा विष्णु पौडेल, विदेश विभाग प्रमुखमा राजन भट्टराई, सम्पर्क कमिटी र कोष तथा आर्थिक विभाग प्रमुखमा छविलाल विश्वकर्मा, संसदीय विभाग प्रमुखमा सुवास नेम्वाङ, निर्वाचन विभाग प्रमुखमा विष्णु रिमाललाई जिम्मेवारी दिइएको छ । यसैगरी, नेता प्रदीप ज्ञवालीलाई प्रवक्ता तथा प्रचार विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।

बैठकले माओवादी केन्द्र परित्याग गरी एमालेमै रहने उद्घोष गरेका नेताहरूलाई केन्द्रीय सदस्यमा मनोनित गरिएको नेता कर्णबहादुर थापाले बताए । २३ जना केन्द्रीय सदस्य मनोनित गरिएको उनले जानकारी दिए । मनोनित हुनेमा रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणिचन्द्र थापा, प्रभु साह, टंक आङबुहाङ, पासाङ शेर्पा, ज्वाला साह, टेकबहादुर बलमपाखी, कमल चौलागार्इं, मनोज थापा, विषमलाल अधिकारी, लीलाबहादुर थापा र दधिराम न्यौपाने रहेका छन् । यसैगरी, गिरधारी लाल, दिनेश पन्थी, नवीन रोका, धर्मराज रेग्मी, डम्बर विष्ट, गौरीशंकर चौधरी, झपट बोहरा, दावा लामा र चन्द्रबहादुर खड्का रहेका छन् ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आगामी केन्द्रीय कमिटी बैठकमा वरिष्ठ नेताद्वय नेपाल र खनाललाई बोलाउन महासचिव ईश्वर पोखरेललाई निर्देशन दिएका छन् । नेपाल र खनाल समूहका केन्द्रीय सदस्य उपस्थिति नभएको देखेर ओलीले अगामी बैठकमा उनलाई बोलाउन महासचिवलाई निर्देशन दिएका हुन् ।

समानान्तर कमिटी बनाउने चेतावनी
एमालेका अध्यक्ष ओलीले पार्टीमा सल्लाह नै नगरी जिम्मेवारी हेरफेर केन्द्रीय सदस्य मनोनित र महाधिवेशनको मितिबारे निर्णय गरेपछि असन्तुष्ट नेपाल र खनाल समूहले सो निर्णय अस्वीकार गर्ने जनाएको छ । सो समूहले त्यसविरुद्ध देशव्यापी रूपमा समानान्तर कमिटी बनाउने चेतावनीसमेत दिएको छ ।

ओली समूहको निर्णयलगतै शुक्रबार बानेश्वरमा बसेको नेपाल र खनाल समूहको स्थायी कमिटी बैठकले ओलीको एकलौटी निर्णय कुनै पनि हालतमा स्वीकार्य नहुने जनाएका छन् । ओलीले एकतर्फी, एकलौटी ढंगले केन्द्रीय कमिटी पुनर्गठन गर्दै महाधिवेशनको मिति तोकेपछि आक्रोशित बनेको नेपाल र खनाल समूहले गुटगत निर्णय भएकाले स्वीकार गर्न नसकिने स्पष्ट पारेको छ । यो समाचार आजको राजधानी दैनिकमा रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस