बैशाख २९, रुपन्देही । भैरहवाको युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पतालले आज दिउँसो ४ बजेपछि अक्सिजन सहित उपचार दिन नसक्ने बताएको छ । अस्पतालमा दैनिक ७ सय सिलिन्डर अक्सिजन खपत भइरहेको तर माग अनुसार आपूर्ति हुन नसकेकाले आज दिउँसो ३ देखि ४ बजे सम्म लाई मात्र अक्सिजन सिलिण्डर मौज्दात भएकाले त्यसपछि उपचार दिन नसक्ने विज्ञप्ति मार्फत जनाएको हो।
जारी विज्ञप्तिमा बिरामी र आफन्तलाई आफ्नो लागि आफैं अक्सिजन व्यवस्था गर्न भनिएको छ । एक हप्ता अघिदेखि माग अनुसारको अक्सिजन व्यवस्था गर्न विभिन्न उपाय अवलम्बन गर्दै आएपनि जिल्लाका तीन उद्योग र बाहिर बाट पनि आपूर्ति हुन कठीन भएकाले वाध्य भएर उपचार दिन नसकिने अवस्था आएको प्रमुख प्रशासकीय अधिकृत कमल ढकालले बताउनुभयो । ढकालका अनुसार अस्पतालमा कोभिड–१९ का ९० जना सहित दुई सय जना बिरामी उपचाररत छन् ।
तीमध्ये एक सय ८० जनाको अक्सिजन सपोर्टमा राखेर उपचार भइरहेको छ । तीमध्ये ४० जना बिरामी भेन्टिलेटरमा र ७० जना आईसीयूमा रहेका छन् ।
माग अनुसार जिल्लाका उद्योगले अक्सिजन दिन नसकेपछि अस्पतालले चितवन बाट आउनुपर्ने १५० जम्बो सिलिण्डर अक्सिजन रोकिए पछि गएराति मध्यरात जिल्ला प्रशासन कार्यालयमा पुगेर हारगुहार गरेको थियो ।
१० दिन अगाडि पनि जिल्ला प्रशासन कार्यालय र स्थानीय सरकार लाई पत्र लेखेर अक्सिजन अभावबारे जानकारी गराएको ढकालको भनाइ छ । ‘माग अनुसार अक्सिजनको आपूर्तिको सुनिश्चतता नभएपछि एक हप्ता अगाडि पनि सूचना जारी गरेर नयाँ बिरामी भर्ना बन्द गरिएको थियो’ ढकालले भन्नुभयोे ।