• २०८३ जेष्ठ ३१ गते आइतवार

संक्रमितका लागि प्लाज्माको जोहो गर्दै माधवी

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

वैसाख २९, नेपालगञ्ज । नेपालगञ्जमा कोरोनाको महामारी छ। पछिल्लो समय दिनमा १० जनाको हाराहारीमा संक्रमितको मृत्यु भइरहेको छ।स्थानीय प्रशासनले निषेधाज्ञा लगाएर सकेसम्म जनतालाई घरभित्रै बसाइरहेको छ। त्रासले गर्दा पनि धेरै मानिस बाहिर निस्केका छैनन्।

नेपालगञ्ज–१२, कोरियनपुरकी माधवी शाहलाई घरमा बस्ने फुर्सद छैन । उनको दौडधुप रेडक्रसको रक्तसञ्चार, अस्पताल र पीसीआर ल्याबमा हुने गरेको छ।कोरोना लागेर सन्चो भएका व्यक्तिको नाम लिस्ट खोजेर उनीहरूलाई प्लाज्मा दिन ‘कन्भिन्स’ गराउनु माधवीलाई अझ ठूलो चुनौती हुने गरेको छ।

शाह शिक्षिका हुन्। डुडुवाको सरस्वती मावि, भंगोट्नामा पढाउँछिन्। स्कुल चल्दा बिहान र बेलुकाको समयमा प्लाज्मा व्यवस्थापनमा लागेकी उनी स्कुल बिदा भएकाले अहिले पूरै समय यसमै लागेकी छन्।के दिन, के रात। कोरोनाका सिकिस्त बिरामीलाई प्लाज्मा आवश्यक पर्दा सम्पर्क गर्ने व्यक्ति भनेकै शाह हुन्।

शाहले पनि सकेसम्म प्लाज्मा माग्नेलाई रित्तो हात फर्काएकी छैनन्। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेज बहादुर वली, जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीसँग कोरोना पुष्टि भएको, डिस्चार्ज भएको मितिसमेत राखेर शाहले नाम लिस्ट उतार्ने गर्छिन्। बिरामीलाई प्लाज्मा चाहिए पछि शाहले त्यही निको भएकाहरूलाई सम्पर्क गरेर प्लाज्मा दिन लगाउँछिन्।

प्लाज्मा चाहियो भनेपछि शाह जसरी पनि व्यवस्थापन गर्न कुदि हाल्छिन्, दिन होस् या रात। शाह भन्छिन्, ‘प्लाज्मा व्यवस्थापन गरेर बिरामी निको भएर जाँदा मलाई संसार नै जितेको जस्तो आनन्द लाग्छ। प्लाज्मा व्यवस्थापन गर्नु सहज भने छैन। प्लाज्मा चाहियो भनेर फोन आएपछि शाहले निको भइ सकेकाको नाम लिस्ट हेर्छिन्।

२८ दिन पुगेकाहरू खोज्छिन्। एन्टीबडी कति छ जाँच गराउँछिन्। निको भइसकेकालाई प्लाज्मा दिन मनाउन चाहिँ गाह्रै हुने गरेको छ। पटक–पटक फोन गर्छिन्, मनाउने प्रयास गर्छिन्। कोही पहिलो पटकमै मानिहाल्छन्, कोही रिसाउँछन्। रिसाउनेलाई मनाउन पटक–पटक फोन गर्छिन्। शाह भन्छिन्, ‘केहीले त गाली नै गर्छन्। तैपनि, राजी गराउने प्रयास गरि रहन्छु। अन्तिममा मान्छन् र प्लाज्मा दिन्छन्।

वैशाखमा मात्रै शाहले ३१ जनालाई प्लाज्मा व्यवस्थापन गरेकी छन्। शुक्रबार अपराह्ण डा.राजन पाण्डे र कमल धमाला प्लाज्मा दिँदै थिए। ३५ पटक बढी रक्तदान गरिसकेका डा। पाण्डेले प्लाज्मा दिँदै भने, ‘कसैको ज्यान बच्छ भने रगत दिनुपर्छ। यो मानवीय सेवा नै हो।

शाह आफूले कोरोना जितिसकेकी छन्। २०७७ देखि शाह प्लाज्मा व्यवस्थापनमा लागेकी हुन्। पहिलो चरणमा शाहले एक सय ८० जना बढीलाई प्लाज्मा व्यवस्थापन गरि सकेकी छन्। शाहले दाङ, काठमाडौँ सम्म प्लाज्मा पठाउँछिन्। ‘सेवा नै धर्म हो।’ मान्छेले विभिन्न किसिमका सेवा गरेर समाजलाई गुन लगाइरहेका हुन्छन्। शाहको प्लाज्मा व्यवस्थापनको कार्यले धेरैको ज्यान बचाएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस