• २०८३ बैशाख ९ गते बुधवार

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ३ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

भदौ २५, काठमाडौं । काठमाडौं महानगरपालिका-१७ खुशिबुबाट १ किलो अवैध लागूऔषध चरेश सहित काठमाडौं सितापाईला बस्ने मकवानपुर घर भएका ३४ वर्षीय भिम बहादुर थिङलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रदेश ३-०२-००१ प ८६०० नम्बरको मोटरसाइकललाई महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक थिङलाई उक्त चरेश सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरि मकवानपुर, मनहरी गाउँपालिका-९ खरंगास्थित घुम्ती पसलबाट २० किलो ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित सोही ठाउँ बस्ने २३ वर्षीया ममिता घलानलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँस्थित सडकको पेटी छेउमा रहेको घुम्ती पसलमा गाँजाको पुरिया बनाई बिक्री गरिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले पसल तलासी गर्दा बोरामा लुकाई राखेको उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो । साथै प्रहरीले मोरङ, बिराटनगर महानगरपालिका-४ कन्चनवारीबाट करिब ५ किलो अवैध लागूऔषध गाँजा सहित धनकुटा सहिद भूमि गाउँपालिका-७ बस्ने २४ वर्षीय सागर राईलाई बिहीबार राति पक्राउ गरेको छ ।

सोही ठाउँस्थित सडकमा सीआरभी पोष्ट भट्टा चौकबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । प्रहरीले पर्सा, जिराभवानी गाउँपालिका-१ ओरिया खोलास्थित सडकबाट करिब ७ किलो ५ सय ग्राम अवैध लागूऔषध गाँजा बिहीबार दिउँसो बरामद गरेको छ ।

नेपालबाट भारततर्फ जाँदै गरेको बीआर ०५ एम ४१०२ नम्बरको मोटरसाइकलमा आएका २ जना व्यक्तिहरुले प्रहरी चौकी महादेवपट्टीबाट खटिएको प्रहरीलाई देख्नासाथ मोटरसाइकल र झोला छाडी फरार भएपछि झोला जाँच गर्दा उक्त गाँजा फेला पारी बरामद गरेको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस