भदौ २४, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फातिमा जेड सुमार सहितको प्रतिनिधिमण्डल बीच भेटवार्ता सुरु भएको छ। ओलीलाई भेट्न बिहीबार दिउँसो दुई बजे बालकोटस्थित निवासमा सुमारसहितको प्रतिनिधिमण्डल पुगेको हो।

बिहीबार बिहान कतार एयरको जहाजबाट त्रिभुवन विमानस्थल आइपुगेकी सुमारसहितको प्रतिनिधिमण्डलसँगको भेटवार्तामा अध्यक्ष ओली, स्थायी कमिटी सदस्य विष्णु रिमाल, विदेश विभाग प्रमुख राजन भट्टराई, प्रचार विभाग उपप्रमुख सूर्य थापा सहभागी छन्।
संसद्मबाट एमसीसी पास गर्ने वा नगर्ने बहस चलिरहेको बेला उपाध्यक्ष सुमार नेपाल भ्रमणमा आएकी हुन्। चारदिने भ्रमणमा नेपाल आएकी सुमारले शीर्ष नेताहरुलाई भेट्ने कार्यक्रम छ। उनले काठमाडौंमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड),नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भटटराई, अर्थमन्त्री जनार्दन शर्मालगायतका नेताहरुसँग भेटवार्ता गर्ने कार्यसूची छ।