• २०८३ बैशाख २७ गते आइतवार

अझै सामाजिक बहिस्कार हुने डरले कोरोना परिक्षण गर्दैनन्

पत्रपत्रिका पढ्न लाग्ने समय : ३ मिनेट

बैशाख २६, बझाङ । शुक्रबार खप्तडछान्ना गाँउपालिकाका ३७ बर्षिया पुरुषको कोरोना संक्रमणबाट शुक्रबार मृत्यु भयो । मृतक पुरुष केही समय अघि देखी नै विरामी परेका भएपनि उनले कोरोना परिक्षण नगरी आफुलाई रुघाखोकी र टाईफाईट भएको भन्दै निजी मेडीकलबाट औषधि सेवन गर्दै आए थिए । निजी मेडीकलबाट औषधि सेवन गरेको हप्तौ भै सक्दा समेत विराम निको भएन ।

उनलाई श्वासप्रश्वास तथा शाररीक रुपमा थप समस्या भएपछि विहीबार जिल्ला अस्पतालमा थप उपचारका लागि पुगे । उपचारका लागी अस्पतालमा पुगेका ति पुरुषमा कोरोना परिक्षण गर्दा कोरोना पोजेटिभ देखियो । स्वास्थ्यकर्मीले उनको उपचार सुरु गरे । तर समस्या जटील भएका कारण उनलाई बचाउन सकेनन् । विहीबार अस्पतालमा थप उपचार गराउन पुगेका उनलाई शुक्रबार डाक्टरले मृत घोषणा गरे ।

यस्तै केही समय अघि जयपृथ्वी नगरपालिकाकी एक ५५ बर्षिया महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भयो । उनले पनि आफुलाई रुघाखोकी र टाईफाईट भएको भन्दै लामो समय सम्म निजी मेडीकलबाट औषधि सेवन गर्दै आएकी थिईन् । मेडीकलको औषधिले राम्रो नभएपछि उनी पनि थप उपचा।का लागि जिल्ला अस्पतालमा पुगिन् । उनको पनि अस्पतालमा कोरोना परिक्षण गर्दा पोजेटिभ देखियो । उनी पनि आफ्नो स्वास्थ्यमा निकै समस्या भएपछि मात्रै अस्पतालमा पुगेकी थिईन् । उपचार सुरु गरेपनि सम्भव भएन, अस्पताल पुगेको २ दिन पछि उनको पनि मृत्यु भयो ।

शनिबार मात्रै केदार स्युँ गाँउपालिकाका ७० बर्षिया पुरुषको कोरोना संक्रमणबाट मृत्यु भयो । उनी पनि स्वास्थ्यमा निकै जटिल समस्या भएपछि स्वास्थ्य संस्थामा उपचार गराउन पुगेका थिए । स्वस्थ्य संस्था उपचारका लागी पुगेको २ दिन पछि उनको पनि मृत्यु भयो ।

अहिले सम्म मृत्यु भएका सबै जना स्वास्थ्यमा निकै जटिल समस्या भएपछि मात्रै अस्पतालमा पुगेका जिल्ला अस्पतालका कार्यलय प्रमुख डाक्टर मिलन खड्काले बताए । विरामी भएको केही समयपछि मात्रै कोरोना परिक्षण गरी समयमा नै अस्पतालमा पुगेको भए मृतक मध्ये ३÷४ जनाको ज्यान बचाउन सकिने डाक्टर खड्काले बताए । अहिले पनि धेरै जसो कोरोना परिक्षण गर्न मान्दैनन् । समाजमा अपहेलना हुने र एक्लै बस्नु पर्ने डर, दाहसंस्कामर गर्न नपाईने होकी भन्ने चिन्ता गर्छन् ।’ डाक्टर खड्काले भने । कोरोना केही पनि होईन यसले केही गर्न सक्दैन भन्ने मानसिकताका कारण पनि समस्या जटिल भएको डा। खड्काको भनाई छ ।

समयमा परिक्षण गरी सचेत बन्न सके कोरोना बाट बाँच्न सकीने डाक्टर खड्काले सुझाब दिए । कोरोनाको लक्षण देखिए पनि रुघाखोकी हो । टाईफाईट भयो । पहिला पनि यस्तै भएको थियो, भन्दै विभिन्न निजी मेडीकलहरुबाट औषधि सेवन गर्नेहरु गाउँमा धेरै छन् ।

पछिल्लो समय रुघाखोकी र टाईटफाईट भयो भन्दै उपचार गराउन आउनेहरुको संख्यामा बृद्धि भएको कामना मेडिकल संचालक असोक मल्लले बताए । लक्षण हेर्दा कोरोना संग मिल्दो जुल्दो भएकाहरुलाई अस्पताल जान सुझाब दिएको मल्लले बताए । आफ्नो मेडिकलमा उपचार गराउन आएका मध्ये पछिल्लो चरणमा ६० प्रतिशतमा कोरोनाको देखिएको मल्लको भनाई छ ।

हाल सम्म बझाङ जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ । कुल १५९३ जनाको कोरोना परिक्षण गर्दा ४१२ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । कुल संक्रमित मध्ये ४१ जना स्वास्थ्यकर्मीको निगरानीमा छन् भने बाँकी २७८ जना होम क्वारेन्टाईनमा रहेको स्वास्थ्य कार्यलयका हेल्थ असिस्टेन रविन्द्र जोशिले बताए । यो समाचार आजको राजधानी दैनिकमा रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस