फागुन २५, काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले सरकारले संघीय शिक्षा ऐन ल्याउने तयारी थालेको बताउनुभएको छ । उहाँले २०२८ सालको शिक्षा ऐनले शिक्षा क्षेत्रमा देखिएको सबै विषय समेट्न नसकेको उल्लेख गर्दै सबै विषय समेट्ने गरी संघीय शिक्षा ऐनको तयारी भइरहेको बताउनुभयो । मन्त्री श्रेष्ठले भारत सरकारको सहयोगमा चन्द्रागिरि नगरपालिका–१५, नैकापस्थित विष्णुदेवी माध्यमिक विद्यालयको पुनर्निर्माण कार्यको उद्घाटन समारोहमा यस्तो जानकारी दिनुभएको हो ।
उहाँले जनताका छोराछोरीलाई सरकारी विद्यालयमा पढ्ने वातावरण सिर्जना गर्न गुणस्तरीय शिक्षा आवश्यक रहेको जिकिर गर्दै त्यसका लागि सरकारी विद्यालयको सुधार आवश्यक रहेको बताउनुभयो । चन्द्रागिरि नगरपालिका–१५, नैकापमा निर्माण हुन लागेको विष्णुदेवी माविको मन्त्री श्रेष्ठ र भारतीय दूतावासका काउन्सिलर प्रफुल्लचन्द्र शर्माले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।
सो क्रममा मन्त्री श्रेष्ठले सरकारको पहिलो प्राथमिकता गुणस्तरीय शिक्षा नै भएको स्पष्ट पार्नुभयो ।कार्यक्रममा मन्त्री श्रेष्ठले २०७२ सालको भूकम्पबाट ध्वस्त र क्षतिग्रस्त विद्यालय पुनर्निर्माणमा भारत सरकारको सहयोग महत्वपूर्ण रहेको चर्चा गर्दै यसले गर्दा दुई देशबीचको सम्बन्ध मजबुत बनाउन सहयोग गरेको पनि बताउनुभयो । उहाँले करिब ७० वटा विद्यालय पुनर्निर्माणमा सहयोग गरिेरहेको भारत सरकारले २८ वटा आंगिक क्याम्पस बनाउने तयारी गरेको जानकारी दिँदै त्यसका लागि पनि नेपाल सरकारका तर्फबाट आभार व्यक्त गर्नुभयो । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।