मंसिर २२, काठमाडौं । सर्लाही-४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित अमरेशकुमार सिंह महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सर्लाहीमा मंगलबारदेखि क्षेत्रीय अधिवेशन सुरु भएको छ । ६ प्रदेशमा प्रदेश सभा अधिवेशन सम्पन्न भइसकेका बेला सर्लाहीमा बल्ल क्षेत्रीय अधिवेशन सुरु भएको हो । जसमा सिंहले २४८ मत पाएका हुन् । संस्थापनइतर समूहमा रहेका सिंहको प्यानल पराजित भएको हो ।

प्रदेश-२ का मन्त्री वीरेन्द्र प्रसाद सिंहको समूह विजयी भएको हो । मन्त्री सिंहको प्यानलले पाँच सय बढी मत पाएको छ । सर्लाही-२ मा दुई सिंहबीचको टकरावका कारण अधिवेशन प्रभावित हुँदै आएको हो । प्रदेश-२ का मन्त्री सिंह संस्थापन समूह निकट हुन् । निर्वाचन समितिका अनुसार महाधिवेशन प्रतिनिधि विजयी हुनेमा प्रत्यक्ष खुलातर्फ वीरेन्द्रप्रसाद सिंह, सुरेन्द्रप्रसाद सिंह, कौशलकिशोर सिंह, राजेश्वरप्रसादसिंह, उपेन्द्र कुशवाहा, रघुवीर कार्की, दिनेशकुमार रायमाझी, केशवकुमार खड्का, अजितकुमार सिंह र शिवशंकर रिजाल रहेका छन् ।
त्यस्तै चार प्रत्यक्ष महिलातर्फ रेखा देवी, उषा देवी, किरण शर्मा र देवी सिन्हा महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । महिला मधेशीतर्फ महाधिवेशन प्रतिनिधिमा रेखा कुमारी देवी, सुनैना देवी र अमृती कुमारी साह विजयी भएका छन् । प्रत्यक्ष मधेशी पुरुषतर्फ श्यामसुन्दर यादव, लक्ष्मी नारायण महतो, लालबाबु यादव र नन्दलाल महतो महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । २५ महाधिवेशन प्रतिनिधिमा दलिततर्फ दुलम दास र मुस्लिमतर्फ दोस्त महम्मद निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।