• २०८३ बैशाख १६ गते बुधवार

परमादेशबाट बनेको सरकारले प्रधानन्यायाधीशलाई महाभियोग लगाउन सक्दैन : अध्यक्ष ओली

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २२, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामालाई ‘बटम लाइन’ बनाएको नेपाल बार एसोसिएसन आन्दोलनको सुरक्षित अवतरणको खोजीमा नेता गुहार्न जुटेको छ ।

प्रधानन्यायाधीश जबराले राजीनामा पनि नदिने,राजनीतिक दलहरूले महाभियोग पनि नलगाउने देखिएपछि बारलाई आन्दोलन टिकाइराख्न कठिन भएको छ। आन्दोलनबाट समाधान पनि ननिस्कने र बीचमै छोड्न नमिल्ने देखिएपछि बारका पदाधिकारी राजनीतिक दलको सहयोग खोज्दै नेताका घरदैलोमा पुग्न थालेका छन् । गत साता नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठलगायतका पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर प्रधानन्यायाधीशलाई राजीनामा दिन लगाउन,नभए महाभियोग लगाउन आग्रह गरेका थिए । मंगलबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बालकोटस्थित निवासमा भेटी उनीहरूले सहयोग मागेका छन् ।

त्यस क्रममा ओलीले जबराबाटै परमादेश पाएर बनेको सरकारले प्रधानन्यायाधीशलाई महाभियोग लगाउन नसक्ने बताए । महाभियोगको प्रस्ताव प्रतिनिधिसभाका दुईतिहाइ सदस्यले पारित गर्नुपर्ने कानुनी व्यवस्था छ । त्यसका लागि गठबन्धनमा रहेका दल तयार नहुने ओलीले बताएका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस