फागुन २४, काठमाडौँ। नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा रहेका सम्पूर्ण राजनीतिक पार्टी तथा राज्यका हरेक तहमा महिलाको उचित सहभागिता रहनुपर्नेमा जोड दिनुभएको छ ।
एक सय ११औं अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण महिलाहरूमा शुभकामना व्यक्त गर्दै सभापति देउवाले अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहेको सन्दर्भमा नेपाल अहिले पनि महिलामाथि हुने विभेद र हिंसाका घटनाबाट मुक्त हुन नसकेको उल्लेख गर्नुभएको छ । देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘शहरदेखि दूरदराजका गाउँमा आज पनि महिला शोषण, दमन र उत्पीडनबाट आक्रान्त छन् । महिलामाथि हुने विभेद र हिंसाका विरुद्ध नारी जागरण आजको आवश्यकता हो। हिंसा लोकतन्त्र र जनताको सम्प्रभुतामाथिको सबैभन्दा ठूलो खतरा हो । हिंसा मुलुकको आर्थिक प्रगतिको सबैभन्दा ठूलो बाधक हो ।
हिंसा सामाजिक एकता र सद्भावलाई कमजोर बनाउने कारण पनि भएको बताउँदै देउवाले काँग्रेस सबै खाले हिंसाको अन्त्य चाहने र महिलाविरुद्ध हुने सबै खाले हिंसाको अन्त्यका लागि आम नागरिकलाई जागरुक गराउन अन्तर्राष्ट्रिय नारी दिवसले सहयोग पुर्याउनेछ भन्ने विश्वास लिएको बताउनुभयो । पार्टी तथा राज्यका हरेक तहमा महिलाको उचित प्रतिनिधित्व र सहभागिता रहनु पर्दछ भन्नेमा काँग्रेस विश्वास राख्ने बताउँदै उहाँले आफ्नो पार्टीको विधानमा वडादेखि केन्द्रसम्मका सबै तहमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्वको सुनिश्चितता गरेको जानकारी दिनुभयो ।