कञ्चनपुर, २३ साउन । सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पूर्व–पश्चिम राजमार्गको चिसापानीदेखि गड्डाचौकी र अत्तरियादेखि त्रिनगर सीमा नाकासम्म सिसिटिभी क्यामेरा जडान गरेको छ।
आर्थिक वर्ष २०७७/७८ को मन्त्रालयको सिसिटिभी क्यामेरा जडान कार्यक्रमअन्तर्गत एक करोड ५१ लाख रूपैयाँको लागतमा सिसिटिभी क्यामेरा जडान गरिएका हुन्। अपराधिक क्रियाकलाप नियन्त्रण, अपराध अनुसन्धान तथा सडकमा हुने ट्राफिक जाम र सडक दुर्घटना कम गर्न सिसिटिभी क्यामेरा जडान गरिएको बताइएको छ।
मन्त्रालयका प्रवक्ता मोहनराज जोशीका अनुसार सडकका संवेदनशील क्षेत्रको पहिचान गरी १३८ वटा सिसिटिभी क्यामेरा जडान गरिएका छन्। जडान गरिएका सिसिटिभी क्यामेरामा पिटिजेड (घुम्ने) सातवटा र अन्य १२० क्यामेरा जडान गरिएका छन्।
राजमार्ग क्षेत्रको धेरै व्यक्तिहरु जमघट हुने, चौराह, दोबाटो, सार्वजनिक सम्पत्ति रहेको क्षेत्र, सरकारी कार्यालय रहेका क्षेत्रमा सिसिटिभी क्यामेरा जडान गरिएको प्रवक्ता जोशीले बताए। क्यामेरा जडानका लागि १०८ दशमलब ५६ किलोमिटर क्षेत्रमा केबुल बिछ्याइएको छ। सिसिटिभी क्यामेरा जडान गरिएका क्षेत्रमा १२ वटा स्टेशसन राखिएको छ।
‘क्यामेरा जडानको कार्य पूरा भएको छ‚’ प्रवक्ता जोशीले भने, ‘नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् आपूर्तिका लागि सम्झौताको कार्य भैरहेको छ।’ क्यामेरा जडानपछि परीक्षण भैरहेको उनले बताए।