• २०८३ बैशाख ८ गते मङ्गलवार

राष्ट्रिय युवा संघ नुवाकोटद्वारा वृक्षारोपण कार्यक्रमको शुभारम्भ

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असार २३, नुवाकोट । नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपाल, जिल्ला कमिटी नुवाकोटले वृक्षारोपण कार्यक्रमको शुभारम्भ गरेको छ । संघको केन्द्रीय कमिटीको निर्णय अनुसार असार १८ बाट शुरु गरिएको देशभरमा उक्त वृहत वृक्षारोपण कार्यक्रम अन्तरग आज नुवाकोट जिल्लामा पनि शुभारम्भ गरिएको हो ।

जिल्लाको विदुर नगरपालिका वडा नं. १० गेर्खुटारको मनमोहन स्मृति पार्कबाट वृक्षारोपण कार्यक्रम शुरु गरिएको छ । निर्धारित समयसम्म निरन्तर रुपमा सञ्चालन गरिने उक्त अभियानले जिल्लाका सम्पूर्ण स्थानीय तहहरुमा सञ्चालन गरिने बताइएको छ । संघका महासचिव रमेश आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा आज पाँच सय विरुवाहरु रोपिएको छ । वृक्षारोपणमा बेल, चाप, कागती, सिसौ, रुख कटर, तेजपत्तालगायतका बिरुवा रोपिएको छ ।

कार्यक्रममा विशेष अतिथिको रुपमा संघका सचिव एवं वागमती प्रदेश संगठन कमिटी सह(ईन्चार्ज महाराजा गुरुङ, नेकपा एमाले राष्ट्रिय प्रतिनिधि परिषद सदस्य बिन्दा ढुङ्गाना, विनपा वडा नं। ५ वडा अध्यक्ष शिव कुमार चित्रकार, संघका सचिवालय सदस्यद्वय आर्यान श्रेष्ठ, राजु तिवारी, केन्द्रीय सदस्य दिपेश खड्का, सुरेश भण्डारी, केदार थपलियालगायत स्थानीय नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । कार्यक्रमको सभापतित्व संघका जिल्ला अध्यक्ष एवं केन्द्रीय सचिवालय सदस्य प्रज्वल सापकोटा र संचालन नेकपा एमाले जिल्ला कमिटी नुवाकोटका सदस्य दामोदर खतिवडाले गर्नुभएको थियो ।

उक्त अभियान साउन ७ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । वृहत वृक्षारोपण अन्तरगत देशभरमा कम्तिमा पनि तीन लाख विरुवा रोप्ने लक्ष्य लिइएको संघका महासचिव रमेश आचार्यले जानकारी दिनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस