• २०८३ मङ्सिर ८ गते सोमवार

युरोकप फुटबल : स्पेनलाई हराउँदै इटाली फाइनलमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असार २३, एजेन्सी । जारी युरो कप २०२० अन्तर्गत पहिलो सेमी फाइनल खेलमा इटालीले स्पेनलाई पेनाल्टी ‘शुटआउट’मा ४-२ गोलले पराजित गरेको छ। १२० मिनेटको खेलसम्म पनि दुवै टोलीले १-१ गोलको बराबरी खेलेपछि पेनाल्टी ‘शुटआउट’मा पुगेको खेलमा इटालीले स्पेनलाई पराजित गरेको हो।

खेलको ६०औं मिनेटमा चार पटक विश्वकप विजेता इटालीले अग्रता पनि लियो। इटालीले शानदार ‘काउन्टर एट्याक’ मार्फत खेलमा अग्रता लिन सफल भएको थियो। इटालीका गोलरक्षक डोनारुम्माले शुरुवात गरेको काउन्टर एट्याकलाई इटालीले मात्र १३ सेकेन्डको फरकमा फेडेरीको किएसा मार्फत गोलमा परिणत गरेको थियो। स्पेनले खेलको ८०औं मिनेटमा बराबरी गोल गर्न सफल भयो। ओलमोको पासमा मोराटाले सुन्दर गोल गर्दै स्पेनिश टोलीलाई बराबरीमा पुर्याए। यस गोलले मोराटालाई युरो कप प्रतियोगितामा स्पेनको सर्वाधिक गोलकर्ता पनि बनायो। युरोमा उनले ६औं गोल गर्दै फर्नान्डो टोरेसको कीर्तिमान तोडेका हुन्।

त्यसपछि खेलमा दुवै टोलीले निर्णायक गोलको प्रयास गरेपनि सो हुन सकेन र खेल अतिरिक्त समयतर्फ गयो। नक-आउट चरणमा स्पेनको यो लगातार तेस्रो अतिरिक्त समय रह्यो। अतिरिक्त समयको पहिलो हाफमा दुवै टोलीले खेलमा गोल गर्न सकेनन्। स्पेनले थप समयको पहिलो हाफमा केही अवसरहरू सिर्जना गरेपनि गोल भने गर्न सकेन।

थप समयको दोस्रो हाफमा भने इटालीले केही मौकाहरु बनाउन सफल भयो। खेलको १०९औं मिनेटमा इटालीका फरवार्ड बेरार्डीले गोल समेत गरेका थिए तर उनी अफसाइड भएकाले सो गोलले मान्यता पाएन। यसरी थपिएको ३० मिनेटको समयमा पनि कुनै गोल हुन नसक्दा खेल पेनाल्टी ‘शुटआउट’तर्फ गएको थियो।

पेनाल्टीमा इटालीका आन्द्रे बेलोट्टी, लियोनार्दो बुनिची, फेडेरिको र जोर्गिन्होले गोल गरे । म्यानुएल लोकाटेलीले गोल गर्न सकेनन् । स्पेनका मोरेनो जेरार्ड र थियागो अल्कान्टाराले गोल गरे । तर, डानिल ओल्मो र अल्भारो मोराटाले गोल गर्न सकेनन् ।

Sharing

प्रतिक्रिया दिनुहोस