माघ २५, बैतडी । पाँच दिनदेखि हराएर हत्या गरिएको अवस्थामा फेला परेकी दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्यारा को हो भन्ने बारेमा प्रहरी अझै अनभिज्ञ छ । उनको बलात्कारपछि हत्या भएको बताइए पनि घटनामा संलग्नको खोजतलास समयमै हुन नसक्दा अपराधी उम्कन सक्ने चिन्ता छाएको छ । प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेको बताए पनि घटना घटाउने अपराधी र दोषीको नजिक पुग्न सकेको देखिँदैन । बैतडीमा हत्या गरिएको किशोरीको हत्यारा पत्ता नलाग्दासम्म स्थानीय र विद्यार्थीले आन्दोलन जारी राख्ने बताएका छन् ।

गत बुधबार भट्ट स्कुलबाट घर फर्किनन् । उनको घरपरिवार र आफन्तले उनी हराएकै केहीबेरपछि खोजी गर्दा कतै भेटेनन् । हराएको भोलिपल्ट ९गत बिहीबार० साँझ ५ बजेतिर घरभन्दा ३ किलोमिटर परको लवलेक जंगलमा उनको शव वीभत्स तरिकाले हत्या गरेको अवस्थामा फेला परेको थियो । प्रहरीले हाल घटनाको अनुसन्धान भरहेको बताए पनि विस्तृत विवरण पत्ता लगाउन सकेको छैन ।