नेपालमा कोरोनाभाइरसको डबल म्युटेन्ट भेरिएन्ट देखा परेपछि उच्च जोखिमका अन्य जिल्लाहरुसहित यतिबेला सुनसरीमा पनि निषेधाज्ञा जारी गरिएको छ । पछिल्लो केही दिनयता कोरोना संक्रमितको संख्या ह्वात्तै वृद्धि भएपश्चात् यहाँका स्थानीय तहले सतर्कता अपनाएको पाइन्छ ।

यसैक्रममा इटहरी उपमहानगर र बराहक्षेत्र नगरपालिकाले ५०र५० बेडको आइसोलेसन सेन्टर संचालनको तयारी गरेका छन् भने राजनीतिक दलको रुपमा नेपाली काङ्ग्रेस सुनसरीले इनरुवा स्थित आफ्नो कार्यलय कोभिड अस्पताल सन्चालनका लागी दिने भएको छ । त्यस्तै, इनरुवा न।पा।का मेयर राजन मेहेता, बराहक्षेत्र न.पा.का मेयर निलम खनाल र प्रमुख प्रशासकीय अधिकृत राजेश प्रसाद पोखरेलले आफू चढ्ने गाडी कोभिडका बिरामी ओसार्न प्रयोग गर्न दिने बताएका छन् । यस कदमको धेरैले सामाजिक संजालमार्फत प्रशंसा गरे । थोरैले यसलाई सस्तो लोकप्रियताको संज्ञा समेत दिए । तर संकटको बेला गरिएको यो काम वास्तवमै यो स्वागतयोग्य छ । महामारीको अबस्थामा कम्तीमा अस्थायी एम्बुलेन्सको त जोहो भयो । तर सँगै तीन वर्षसम्म पालिकाले एउटा एम्बुलेन्स खरिद नगर्ने अनि अहिले सरकारी गाडी प्रयोग गरेर महानता देखाउने ? प्रश्न चिन्ह खडा हुन्छ । इनरुवा नगरपालिकाको आफ्नै एम्बुलेन्स नभएको जनाएको छ ।
सन्दर्भ कुरा गरौ, बराहक्षेत्र नगरपालिकाको । जनप्रतिनिधि आएपछि यस बराहक्षेत्र नगरपालिकामा अहिलेसम्म चारवटा बजेट विनियोजन भइसकेका छन् । आर्थिक वर्ष २०७४/७४ मा ५३ करोड ४६ लाख ९ हजार, २०७५/७६ मा ६९ करोड ९३ लाख ३४ हजार ९२रुपैयाँ, २०७६/७७ मा ७९ करोड १४ लाख ४ हजार ८ सय ७८ रुपैयाँ र २०७७/७८ मा ८७ करोड ३३ लाख ८९ हजार ३ सय ९३ रुपैयाँ विनियोजन भएका छन् ।
नगरले दमकल खरिद गर्यो । स्थानीयको मलामी र अन्य आवश्यकीय कार्यका लागि निशुल्क उपलब्ध हुनेगरि केही वडाले ट्याक्टर खरिद गरेका छन् । तर नगरपालिकासँग अहिलेसम्म एम्बुलेन्स नहुनु एउटा दुःखद पक्ष हो भने साबिकका ५ गाबिसमा भएका एम्बुलेन्स प्रभावकारी परिचालन नहुनु अर्को दुःखद कुरा हो । यसैबीच कार्यपालिका सदस्य एबम् ९ नम्बर वडाध्यक्ष दिपक लिम्बुले कार्यपालिकामा नगर एम्बुलेन्स खरिदको विषयमा छलफल भएको भएपनी खरिद हुन नसकेको बताउँछन् । उनले भने, छलफल त भएको हो तर वडाले आफै खरिद गर्न सक्ने भएकाले नगरले नगरेको हो ।
स्थानीय तहले यस्ता आपतकालीन सरजाम र उपकरणको लागि बेलैमा सोच्नु उपयुक्त होला । नगरबासीलाई निशुल्क एम्बुलेन्स, दमकल, शवबहान आदीको व्यबस्था गर्न सके उत्तम हुने थियो ।