साउन २० काठमाडौं । प्रहरीले मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० स्थित गण्डकी गेष्ट हाउस रेष्टुरेन्टबाट १ हजार १ सय २५ ट्याब्लेट नियन्त्रित लागूऔषध नाइट्राभेट सहित २ जनालाई मंगलबार साँझ पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बारा निजगढ नगरपालिका-१३ बस्ने १९ वर्षीय सुवास गोले र सोही ठाउँ बस्ने १९ वर्षीय सरोज थिङ रहेका छन् ।
उक्त रेष्टुरेन्टमा लागूऔषध सहित मानिस बसेका छन् भन्ने सूचनाको आधारमा प्रहरी चौकी भुटनदेवीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस्तै पर्सा वीरगंज महानगरपालिका-१६ शंकराचार्य गेटबाट नियन्त्रित लागूऔषध ३० पिस फेनारगन, ३० पिस डाइजेल्याव र ३० पिस नुफिन सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-४ सितापाईला भिमढुङ्गा बस्ने ३२ वर्षीय बिमल श्रेष्ठ र मकवानपुर हेटौंडा उपमहानगरपालिका-११ थाना भर्याङ सिमलटार बस्ने २१ वर्षीय डेनिएल तामाङ रहेका छन् । ना.४१ प ६८४४ नम्बरको स्कुटरलाई लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय पर्साबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी स्कुटर चालक श्रेष्ठ र स्कुटरमा सवार तामाङलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।