बैशाख २१, डोटी । डोटी जिल्लामा १० दिनका लागि निषेधाज्ञा जारी गरिएको छ । सोमबार राति १२ बजेदेखि लागु हुनेगरी वैशाख ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको हो ।

प्रमुख जिल्ला अधिकारीले जारी गरेको विज्ञप्तिमा विश्वव्यापी महामारीको रुपमा फैलिएको नयाँ भेरिएन्टसहितको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण दर डोटी जिल्लामा समेत उच्च रहेको हुँदा उक्त संक्रमणको रोकथाम तथा नियन्त्रणको लागि जिल्लाभरी लागू हुनेगरी निषेधाज्ञा जारी गरिएको उल्लेख गरिएको छ ।
निषेधाज्ञा अवधिभर अत्यावश्यक सेवा बाहेकका सबै प्रकारका निजी तथा सार्वजनिक सवारी साधन संचालनमा रोक लगाइएको छ । त्यसैगरी स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै बिहान ६ बजेदेखि ९ बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्मका लागि खाद्य सामग्रीका पसलहरु खोल्न पाउने बताइएको छ ।