असोज १७, काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट पत्रकारहरूको संस्था प्रेस संगठन नेपालको महाधिवेशन आगामी कात्तिकमा हुने भएको छ।
शनिबार बसेको केन्द्रीय समितिको पूर्ण बैठकले आगामी कात्तिक अन्तिममा महाधिवेशन गर्ने प्रस्ताव गर्दै त्यसका लागि असोज मसान्तसम्म सदस्यता वितरण तथा नवीकरण, कात्तिक ८ गतेसम्म जिल्ला समन्वय समितिको अधिवेशन र कात्तिक १८ गतेसम्म प्रदेश अधिवेशन सम्पन्न गर्ने गरी मिति तोकेको छ।
बैठकले संगठनको नाम प्रेस संगठन परिर्वतन गरी पुरानै नाम प्रेस सेन्टर नै राखेको छ। तत्कालीन नेकपा (एमाले) र माओावादी केन्द्र एकता भएपछि प्रेस चौतारी र प्रेस सेन्टर नेपाल मिलेर प्रेस संगठन बनेको थियो। पार्टी विभाजन भएपछि एमाले निकट पत्रकार संगठनको नाम प्रेस चौतारी भए पनि माओवादी केन्द्र निकट पत्रकारको संगठनको नाम प्रेस संगठन नै रहेको संयोजक महेश्वर दाहालले जानकारी दिए। बैठकले केन्द्रीय समिति महाधिवेशन आयोजक समिति तथा सबै समिति अधिवेशन आयोजक समितिमा परिणत गर्ने भएको छ।
बैठकमा महाधिवेशनबाट पारित गर्ने गरी संगठनको विधान प्रस्ताव गर्नुका साथै विधानमा संघ, प्रदेश र स्थानीय तहका शाखालाई बलियो बनाउने प्रस्ताव गरेको छ।