भदौ, १८ भक्तपुर । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भक्तपुरमा आफूलाई नभई दुर्लभ थापालाई निर्वाचन हराएर देखाउन चुनौती दिएका छन्।
नेपाली कांग्रेस सूर्यविनायक नगरपालिका-५ को वडा अधिवेशन शुक्रबार सिर्जनानगरमा उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले नेकपा एमालेका नेता महेश बस्नेतलाई सो चुनौती दिएका हुन्।
बस्नेतले केही दिनअघि प्रधानमन्त्री देउवालाई भक्तपुरमा आफूसँग निर्वाचन लड्न चुनौती दिएका थिए। त्यसको जवाफ दिँदै देउवाले भने, ‘भक्तपुरमा मलाई होइन दुर्लभ थापालाई चुनाव हराएर देखाउनू।’
उनले कांग्रेसको महाधिवेशन सफल बनाउन सम्पूर्ण नेता कार्यकताहरुलाई आह्वान गर्दै भने, ‘लोकतन्त्रको स्थायित्व र संविधानको रक्षाका लागि पनि कांग्रेसको महाधिवेशन सफल बनाउनुपर्छ।’
उनले कांग्रेसलाई आगामी निर्वाचनमा पहिलो पार्टी बनाउन पनि महाधिवेशन सफल बनाउनुको विकल्पन भएको बताए। अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गरेर पार्टीमा एकताको सन्देश दिन आग्रहगर्दै देउवाले भने, ‘महाधिवेशन पार्टीलाई एकतावद्ध बनाएर लैजाने र आगामी कार्यकालको लागि कार्यनीति र नेतृत्वचयन गर्ने थलो हो।’
उनले पार्टीलाई संवैधानिक संकट आउन सक्ने भएकाले कोरोनाको जोखिमका बीचमहाधिवेशन गर्नुपरेको बताए। उनले भने, ‘कांग्रेसको वैधानिकता जोगाउन पनि कोरोनाको जोखिमका बीच महाधिवेशन गर्नु परेको हो। महाधिवेशनलाई सफल बनाउन स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी सहभागी हुन आह्वान गर्दछु।’
कार्यक्रममा केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाले कांग्रेसको महाधिवेशनलाई राष्ट्रिय र अन्तराष्ट्रिय शक्ति केन्द्रहरुले चासोका साथ हेरिरहेको बताउँदै मुलुक र पार्टीको प्रतिष्ठा कायमगरि राख्न पनि महाविधेशन सफलबनाउनु पर्ने बताए। उनले भने, ‘कांग्रेस मुलुकको जेठो र लोकतान्त्रिक पार्टी हो। कांग्रेसको महाधिवेशनको सफलताले मुलुकको लोकतन्त्रको भविष्य पनि जोडिएको छ।’
वडा इकाई सभापति राजु ढुंगेलको सभापत्विमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सभापति दुर्लभ थापाले भक्तपुरमा सर्वसम्मत नेतृत्व चयनको प्रयास भइरहेको बताए। उनले अधिवेशनमा निर्वाचनबाट नेतृत्व चयन गर्नु पनि लोकतान्त्रिक प्रक्रिया भए पनि सौहार्दपूर्ण तरिका र स्वच्छ प्रतिष्पर्धामार्फत नेतृत्व चयन हुने दाबी गरे।