• २०८३ असार ३ गते बुधवार

नेपाल समूहद्वारा ‘संगठन निर्माण र सुदृढीकरण अभियान’ घोषणा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत्र २१, काठमाडौँ । नेकपा एमालेको माधवकुमार नेपाल समूहले दुई महिने ‘पार्टी संगठन निर्माण र सुदृढीकरण अभियान’ घोषणा गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्यलाई ६ महिना निलम्बन गरेपछि नेपाल समूहले स्थायी कमिटी सदस्यहरुको बैठक बोलाएको थियो ।

शुक्रबार र शनिबार बसेको नेपाल पक्षका स्थायी कमिटी सदस्यहरुको बैठकले ‘नेकपा एमालेको एकतालाई जोगाऔं, कम्युनिस्ट आन्दोलनको रक्षा गरौं’ भन्ने नाराका साथ अभियान घोषणा गरेको हो । अभियानका क्रममा अधिवेशन र महाधिवेशनबाट आएका र २०७५ जेठ २ मा कायम भएका कमिटीहरुको पुनः सञ्चालन तथा आवश्यकता अनुसार गठन पुनर्गठन हुनेछ । यसका लागि केन्द्रीय सदस्य र नेताहरुलाई पार्टी प्रतिनिधिका रुपमा जिल्ला जिल्लामा खटाइने नेता योगेश भटटराईले जानकारी दिए ।

बैठकले पार्टी स्थापना दिवस, मनमोहन अधिकारी स्मृति दिवस, मदन आश्रित स्मृति दिवसमा पार्टी एकताको पक्षमा विचार गोष्ठी लगायतका कार्यक्रम गर्ने निर्णय पनि भएको छ । माधव समूहले वैशाख ९ गते पार्टी स्थापना दिवसको अवसरमा कम्युनिष्ट आन्दोलनको एकतालाई ध्यान दिँदै काठमाडौंमा भव्य कार्यक्रम गर्ने छ। १३ गते मनमोहन अधिकारी स्मृति दिवसलाई एकताकै सन्दर्भका रुपमा मनाउने र विराटनगरमा केन्द्रीयस्तरको कार्यक्रम गर्ने भएको छ। जेठ ३ गते मदन भण्डारी र जीवराज आश्रितको स्मृति दिवसमा चितवनमा राष्ट्रियस्तरको कार्यक्रम गर्ने निर्णय भएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस