• २०८३ बैशाख १७ गते बिहिवार

स्वास्थ्य मापदण्ड अपनाई घरमै अञ्जली मास्केले भाइटीका लगाइदिने

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

कात्तिक १६, काठमाडौं । यस वर्ष अञ्जली मास्केले स्वास्थ्य मापदण्ड अपनाई घरमानै भाइटीका लगाई दिने बताउनुभएको छ । विश्वभरि फैलिएको कोरोनाको त्रास अझै बाँकी रहेको भन्दै उहाँले आउनका लागि आग्रह पनि नगर्ने र आएकालाई स्वास्थ्य मापदण्ड अपनाई ताहचलस्थित निवासबाट भाइटीका लगाउने बताउनुभएको हो ।

गत वर्ष पनि कोरोनाको कारण सामूहिक रुपमा टीका नलगाउनुभएको उहाँले यस वर्ष पनि धेरै भीडभाडको कार्यक्रम आयोजना नगरी सामान्य रुपमा औपचारिकता मात्रै निभाउन लागेको जानकारी दिनुभयो ।

कोभिड–१९ को महामारी हुनुभन्दा पहिले मास्केले ऐतिहासिक काष्ठमाण्डपबाट सामूहिक रुपमा भाइटीका लगाई दिँदै आउनुभएको थियो । गोर्खा भूकम्पको कारण पूर्ण रुपमा क्षति भएको ऐतिहासिक सम्पदाको पुनः निर्माण कार्य सम्पन्न नभएकाले र महामारीका कारण मास्केले यस वर्ष सानो समूहमा घरबाट नै भाइटीका लगाउन लाग्नुभएको हो ।

वि.सं २०५५ देखि भाइटीका लगाउँदै आएको बताउने उहाँले महामारीको कारण गत र यस वर्ष पनि भने जसरी टीका कार्यक्रम आयोजना गर्न नपाउँदा रमाइलो नभएको बताउनुहुन्छ ।

महामारी हुनुपहिले हरेक वर्ष २०८ जनालाई उहाँले टीका र आशीर्वाद दिने गरेको अनुभव सुनाउनुहन्छ । उहाँले भन्नुभयो, “दुई वर्ष जे भयो भयो आगामी वर्षमा सबैसँग रमाइलो गरेर काष्ठमण्डपमा सामूहिक टीकाको कार्यक्रम गर्न पाइयोस् भगवान्सँग कामना गर्छु ।” ७६ वर्ष उमेर बताउने मास्केले कोरोनाबाट जोगिन सबैको स्वास्थ्य ख्याल गर्दै आफूले यस वर्ष भीडभाड कम गरेको बताउनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस