बैशाख १९, काठमाडौं । लुम्बिनी प्रदेशमा अविश्वासको प्रस्तावको खेललाई अन्ततः मुख्यमन्त्री शंकर पोखरेलले तुहाएका छन् । सुरुमा जनता समाजवादी पार्टीका चार सांसदलाई मन्त्री बनाएर अविश्वास प्रस्ताव रोकेका पोखरेलले चार मन्त्रीलाई जसपाले सांसद पदबाट निष्काशन गरेपछि अहिले आएर राजीनामा दिएरै अविश्वासको प्रस्तावलाई तुहाइदिएका हुन् ।

जसपाका ४ सांसद पदमुक्त भएसँगै लुम्बिनीमा एमाले एक्लै बहुमतमा पुगेको छ । प्रदेशसभामा अहिले कायम रहेका ८१ सांसदमध्ये मुख्यमन्त्री शंकर पोखरेलले नेतृत्व गरेको नेकपा एमालेका ४१ सांसद छन् । अविश्वास प्रस्ताव ल्याउने दलहरुसँग ३९ र सभामुख लगाएर ४० सांसद छन् ।
नेकपा ९एमाले०का संसदीय दलका नेतासमेत रहेका पोखरेलले मुख्यमन्त्री पदबाट राजीनामा दिए पनि संसदीय दलको नेता कायम छन् । जसका कारण उनी अब एमालेकै एकल बहुमतमा सरकारको नेतृत्व गर्नेछन् । अर्थात नयाँ सरकारको नेतृत्व सम्हाल्ने निश्चित भएको छ । नयाँ सरकार बनेपछि तत्काल अविश्वासको प्रस्ताव ल्याउन पनि मिल्दैन । लुम्बिनी प्रदेश एमालेका प्रमुख सचेतक भुमिश्वर ढकालले पनि एमालेको एकल बहुमतमा प्रदेश सरकार गठन हुने बताए ।