• २०८३ बैशाख ५ गते शनिवार

गृहमन्त्री बादलको संयोजकत्वमा विप्लव समूहसँग वार्ता गर्न टोली गठन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १८, काठमाडौं। सरकारले नेत्रविक्रम चन्द समूहसँग वार्ता गर्न दुई सदस्यीय टोली गठन गरेको छ । वार्ताका माध्यमबाट नै समस्या समाधान गर्ने नेपाल सरकारको निर्णयानुरुप गृहमन्त्री रामबहादुर थापाका संयोजकत्वमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराई सदस्य रहेको दुई सदस्यीय वार्ताटोली आज गठन गरिएको हो ।

सरकारी वार्ता टोलीमा गृहमन्त्री बादल र प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराई रहनुभएको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले केही बेरअघि जारी गर्नुभएको प्रेस विज्ञप्तिमा वार्ताटोली गठन गरिएको जनाइएको हो ।

यससँगै विप्लव समूहले पनि वार्ता टोली गठनको तयारी थालेको बताइएको छ । विप्लव समुहले पनि यसअघि वार्ताका लागि आफूहरु सकारात्मक रहेको भन्दै विज्ञप्ति निकालेको थियो । विप्लव समुहका तर्फबाट पनि टोली बनेपछि वार्ता हुने सम्भावना बढेको छ ।

सरकारले विप्लव समूह आपराधिक संगठन भएको ठहर भएको भन्दै २०७५ फागुन २८ गते प्रतिबन्ध गरेको थियो । तर सत्तारुढ दल नेकपा आन्तरिक विवादमा रुमालिएर विभाजितको अवस्थामा पुगेपछि सरकारले विप्लव समूहलाइ वार्ताको माध्यमबाट मुलधारको राजनीतिमा ल्याउने प्रयास गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस