फाल्गुण १८, मोरङ । प्रधानमन्त्री केपी शर्मा ओली झापा र मोरङका बिभिन्न कार्यक्रमका लागि आज झापा र मोरङ जाँदै हुनुहुन्छ । यति एयरलाइन्सको जहाजमार्फत बिहान ११ बजे भद्रपुर विमानस्थल हुँदै झापा आउने कार्यक्रम रहेको छ ।
सुरुमा बिर्तामोड नगरपालिका–७ मा विपन्न ३७ परिवारका लागि निर्माण गरिएको आवासको प्रधानमन्त्रीले उद्घाटन गरेपछि नगरपालिकाले आवास समुदायलाई हस्तान्तरण गर्ने छ । अव्यवस्थित रुपमा बसोवास गर्दै आएका ३७ विपन्न परिवारका लागि बिर्तामोड नगरपालिकाको संयोजनमा आवास निर्माण गरिएको हो । धनजुजु श्रेष्ठ र कमला श्रेष्ठले एक बिघा तीन कट्ठा जग्गा उपलब्ध गराएपछि आवास निर्माण सम्भव भएको नगर प्रमुख धुब्रकुमार शिवकोटीले बताउनु भयो । हेविट्याट नेपालको ८३ लाख रुपैयाँ र सहारा नेपालको प्राविधिक सहयोगमा नगरपालिकाले आवास निर्माण गरेको हो ।
आवास उद्घाटनपछि उहाँले बिर्तामोडमै निर्माण भएको पूर्वाञ्चल क्यान्सर हस्पिटलको उद्घाटन गर्नु हुनेछ । उक्त हस्पिटल बी एण्ड सी अस्पतालले सञ्चालनमा ल्याएको हो । अस्पताल तीन सय बेडको स्वीकृति पाए पनि हाल एक सय बेड मात्रै सञ्चालनमा ल्याइएको छ ।
झापाका दुईवटा कार्यक्रम सकिएपछि ओली मोरङ जानुहुनेछ । ृहाँले उर्लाबारी नगरपालिका–८ र ९ को सीमानामा रहेको रातोहोली खोल्सीनजिक लोपोन्मुख एवं अल्पसंख्यक सन्थाल समुदायका लागि निर्माण गर्न लागिएको एकीकृत सन्थाल बस्तीको शिलान्यास गर्ने कार्यक्रम छ । सन्थाल जातिका लागि ३० करोड रुपैयाँ खर्च गरेर दुई वर्षभित्रमा एकीकृत बस्ती निर्माण गरिसक्ने योजना छ । उर्लाबारी–९ मा सन्थाल बस्तीको शिलान्यास गरेपछि प्रधानमन्त्री ओलीले उर्लाबारी–८ मा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुनेछ । झापा र मोरङका विभिन्न कार्यक्रममा सहभागी भएपछि उनी आजै काठमाडौं फर्कनु हुनेछ । विराटनगर विमानस्थल हुँदै प्रधानमन्त्री ओली काठमाडौं फर्कने तय भएको छ ।
मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्का र झापा प्रहरी प्रमुख एसपी सानुराम भट्टराई सुरक्षा व्यवस्था मिलाउन आफै फिल्डमा खटिएका छन् । कुनै पनि कमजोरी हुन दिने हिसाबमा पर्याप्त सुरक्षाकर्मी परिचालन गर्दै भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको प्रदेश १ प्रहरी प्रमुख डीआईजी ईश्वरबाबु कार्कीले जानकारी दिए । उनका अनुसार भद्रपुर विमानस्थलदेखि विभिन्न कार्यक्रमहरु आयोजना गरिएका स्थान र प्रधानमन्त्री काठमाडौं फर्कने विराटनगर विमानस्थलसम्मको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको हो ।