पौष १८, मुगु । छायानाथ रारा नगरपालिका ५ का प्रेमबहादुर रोकायाकी श्रीमती स्वर्गीय हीरादेवी रोकायाको नाममा पाँच लाख रुपैयाँको अक्षय कोष स्थापना गरिएको छ । शुक्रवार एक कार्यक्रमका बीच प्रभात माद्यमिक विद्यालय रोवालाई ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरी अक्षय कोषका स्थापना गरिएको हो ।

गरिब, विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई प्रोत्साहन स्वरूप छात्रवृत्ति प्रदान गर्न साथै न्यून आयस्रोत भएका तथा विपन्न घर परिवारका बालबालिकालाई पठनपाठनमा सहज होस् भन्ने उद्देश्यले अक्षय कोषको स्थापना गरिएको सञ्चालक समितीका अध्यक्ष रामभक्त रोकायाले जानकारी दिए । संचालक रामभक्त रोकायाका अनुसार उक्त रकम विद्यालयको खातामा जम्मा गरिनेछ । विद्यालयले गरिब जेहन्दार विद्यार्थी छनोट गरी वार्षिक रूपमा छात्रवृत्ति प्रदान गर्ने संचालक समितिको भनाइ छ । हाल नगरका छ वटा माध्यमिक तथा आधारभूत विद्यालयलाई प्राथमिकतामा राखेर ५० हजार रुपैयाँका दरले पाँच लाख रुपैयाँ बराबरको अक्षय कोषको स्थापना गरिएको जनाइएको छ ।
हीरादेवीको २८ असोज २०७६ मा ४४ वर्षको उमेरमा निधन भएको थियो । यस अघि छायानाथ रारा नगरपालिका वडा नं ४ मा रहेको मालिका आधारभूत विद्यालय सेतिबाडा लाई ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरी अक्षय कोषका गरिएको थियो ।