• २०८१ असोज २० गते आइतवार

प्रदेश २ मा जसपाका १० प्रदेश सभा सदस्य लोसपाको पक्षमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १६, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) विभाजित भएर गठन भएको लोकतान्त्रिक समाजवादीमा जसपाका १० जना प्रदेशसभा सदस्यले सनाखत गर्नुभएको छ । प्रदेश नं. २ का दश जना प्रदेशसभा सदस्यले लोकतान्त्रिक समाजवादी पार्टी रोज्नुभएको हो ।

प्रदेश नं. २ निर्वाचन कार्यालयका प्रमुख पुष्पा झाका अनुसार प्रदेश नं. २ निर्वाचन कार्यालय पुगेर उहाँहरुले लोसपाको पक्षमा सनाखत गरेका हुन। त्यसैगरी, बुधबार सम्ममा ६१ जना विभिन्न पालिकाको जनप्रतिनिधिले लोकतान्त्रिक समाजवादी पार्टीको पक्षमा सनाखत गरी लोसपा रोज्नुभएको छ । लोसपाका एक नेताका अनुसार आज प्रदेश नं।२ को निर्वाचन कार्यालयमा सनाखत गर्ने प्रदेशसभा सदस्यहरुमा परमेश्वर साह, सुरिता साह, जयनुल राइन, बबिता कुमारी, निलम देवी भुमिहारिन, अलका झा, गौरी नारायण साह, जानकी शरण साह, रमेश प्रसाद कुर्मी र बाबुलाल साह रहनुभएको छ ।

प्रदेश नं. २ मा पूर्व नेपाल संघीय समाजवादी पार्टीका ३० र पूर्व राजपाका २५ गरी जसपाका ५५ जना प्रदेशसभा सदस्यहरु रहेका छन् । पूर्व नेपाल संघीय समाजवादी पार्टीका एक जना प्रदेशसभा सदस्य उपमा कुमारी देव उपसभामुख रहनुभएको छ भने राजपाका एक जना प्रदेशसभा सदस्य सरोज कुमार यादव हाल प्रदेश नं।२ को सभामुख रहनुभएको छ । सभामुख र उपसभामुखले हाल पार्टी रोज्न पाउने व्यवस्था रहेको छैन ।

प्रतिक्रिया दिनुहोस