१४भदौ,रोल्पा । रोल्पा जिल्लामा पूर्वाधार विकास र प्रकोप नियन्त्रणका लागि १५ करोड बराबरको बजेट विनियोजन गरिएको छ ।
प्रदेश ५ सरकारले आर्थिक वर्ष २०७७र७८ को बजेटमा विभिन्न आयोजना र कार्यक्रम समावेश गरी उक्त रकम विनियोजन गरेको हो ।
कारोना कहरकै बीचमा विनियोजित बजेट खर्च गर्न कार्यविधि निर्माण भई रहेको आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले जानकारी दिए ।
विनियोजित बजेट आवास तथा बस्ती विकास कार्यक्रम अन्तर्गत त्रिवेणी गाउँपालिकाको नेर्पा बजार र सुलिचौर बजारमा एकीकृत पूर्वाधार निर्माणमा खर्च हुँदैछ भने भवन तथा सभाहल निर्माण कार्यक्रम अन्तर्गत जिल्लाका विभिन्न विद्यालयहरुको भौतिक संरचना विस्तार र मर्मत–सम्भारमा खर्च गर्ने तयारी छ ।
त्यस्तै जनता आवास कार्यक्रमले यसपटक पनि निरन्तरता पाएको छ । पहिरो प्रभावित क्षेत्रमा एकीकृत बस्ती विकास कार्यक्रम र आकस्मिक प्राकृतिक प्रकोप नियन्त्रणमा समेत उल्लेखीय बजेटको व्यवस्था गरिएको छ ।
उर्जा विकास कार्यक्रम अन्तर्गत प्रदेशभित्र जिल्लाहरुमा विद्युतमा पहुँच नपुगेका समुदाय वा बस्तीको लागि ग्रामीण एवं सामुदायिक विद्युतीकरणका लागि १० करोड विनियोज गरिएको छ, भने प्रदेशभित्र विद्युतमा पहुँच नपुगेकाहरुलाई घरेलु सौर्य उर्जा प्रणाली जडानको लागि ७ करोड ४० लाख अनुदान व्यवस्था गरिएको छ ।
प्रदेश ५ सरकारले माग भएर आउने अन्य कतिपय आयोजनामा सम्भाव्यता अध्ययनपश्चात बजेट विनियोजन गर्ने योजना समेत बनाएको छ।