जेठ १६, सुनसरी । दलित भएकै कारण उपल्लो जातको केटी बिहे गर्न जाँदा मारिनुपर्ने अवस्थाको कहिले अन्त्य हुने भन्दै पश्चिम रुकुमको घटना बारेमा छानविन गर्न चौतर्फी दबाब परिरहेको बेला राष्ट्रिय दलित पत्रकार संघ नेपालले देशभरका जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालय अगाडी मैन बत्ति बालेर आधा घण्टा शान्तीपूर्ण धर्ना दिएको छ ।

राष्ट्रिय दलित पत्रकार संघ नेपाल , प्रदेश १ र सुनसरी शाखाले पनि इलाका प्रशासन कार्यालय धरान मा श्रद्धाञ्जली सहित शान्तिपुर्ण धर्ना कार्यक्रम सम्पन्न गरेको छ । दलित पत्रकारको केन्द्रीय कार्यसमितिको बिहीवारको निर्णय अनुसार देशका ७७ वटै जिल्लामा मैनबत्ती बालेर सरकारको ध्यानाकर्षण गराउदै रुकुम पश्चिम हत्याकाण्डका दोषीलाई कडा कारबाही गर्न माग गर्दै शान्तिपूर्ण धर्ना कार्यक्रम गरिएको राष्ट्रिय दलित पत्रकार संघ नेपाल सुनसरीका अध्यक्ष दिनेश गजमेर ले जानकारी दिनुभयो । हत्याको छानविन गर्न सरकारले गठन गरेको उच्चस्तरीय समिति जाजरकोट पुगिसके पनि अन्तरजातीय बिबाह गर्न खोजेको भन्दै खेदेर हत्या गर्ने जस्तो जघन्य अपराध गर्नेलाई कानूनी कारबाही गर्दै निष्पक्ष छानविनका लागि शान्तिपूर्ण धर्ना गर्नपरेको गजमेरको भनाइ थियो ।

यती ठुलो घटना घट्दा पनि सरकार अध्याँरोमै रुमल्लिरहेको देखेर सांकेतिक रुपमा दिउँसै मैनबत्ती बालेर सरकारको ध्यान केन्द्रित गरिएको राष्ट्रिय दलित पत्रकार संघ नेपाल प्रदेश १ का सचिव रनध्वज लोहार ले जानकारी दिनुभयो । बिहान ११ः३० बाट देशै भरी एउटै समयमा सुरुभएको शान्ती पूर्ण धर्ना कार्यक्रममा दिवङ्गतहरुको तस्विर राखेर उपस्थित सबैले मैन बत्ती बालेर श्रद्धान्जली दिनु भएको थियो । शान्तिपुर्ण विरोध कार्यक्रममा ऐक्यबद्धता जनाउन नेपाली कांग्रेसका नगर सचिव श्याम पोखरेल, फोनिजका प्रदेश सल्लाहकार जनकऋषि राई, बराह ग्रुपका सिएओ गंगा कालिकोटे, विश्वकर्मा कल्याण सेवा समितिका अध्यक्ष लालबहादुर सुनचेउरी, दलित बिकास समितिका सदस्य सचिव तारा लाम्गादे , ख्रिस्टिय समाज नेपालका केन्द्रिय सचिव कुवेर गुरुङ्ग, नेकपा धरान इन्चार्ज चोत्लुङ्ग्, रास्ट्रिय मन्च नेपालका सचिव देउमान लिम्बु, नेपाल फोटो पत्रकार संघ सुनसरी अध्यक्ष बिकास चाम्लिङ, परियार सेवा समाजका सुनसरी अध्यक्ष खगेन्द्र नेपाली, नागरिक समाज, अधिकारकर्मी, पत्रकार, पत्रकार महासंघका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । आधा घण्टा को कार्यक्रममा श्याम पोख्रेल, चोत्लुङ्ग् र जनकऋषि राइले सम्बोधन गर्नु भएको थियो ।
गत जेठ १० गते पश्चिम रुकुमको चौरजहारी नगरपालिका घटेको घटनामा जाजरकोट भेरी नगरपालिका–४ का २१ वर्षीय नवराज विक, सन्जु विक, गणेश बुढा, भेरी नगरपालिका–११ का लोकेन्द्र सुनार र चौरजहारीका टीकाराम सुनारको शव भेरी नदीमा फेला परिसकेको छ। भेरी नगरपालिका वडा नम्वर ११ का गोविन्द शाही अझै बेपत्ता छन। यसै घटनको बिरोधमा दोसीलाई कडाभन्दा कडा कार्वाहिको माग गर्दै दलित अधिकारकर्मी हरुको अगुवाइमा बिहीवार धरानमा बिरोध प्रदर्शन गरेर ईलाका प्रशासन कार्यालय धरानमा ज्ञापनपत्र समेत बुझाईसकेको छ । उक्त बिरोध प्रदर्शनमा धरानका बिभिन्न संघ संस्था , राजनीतिक दल, पत्रकार, अधिकार कर्मीहरुको उपस्थिती थियो ।