• २०८३ असार १७ गते बुधवार

इरानका वरिष्ठतम परमाणु वैज्ञानिकको हत्या

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १३, एजेन्सी। इरानका वरिष्ठतम परमाणुवैज्ञानिक मोहसिन फख्रिजादेहको हत्या भएको छ । इरानको राजधानी तेहराननजिकै उक्त हत्या भएको त्यहाँको रक्षा मन्त्रालयले पुष्टि गरेको छ ।

बिबिसीका अनुसार दमावन्द काउन्टीमा पर्ने अबशार्दस्थित अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । इरानका विदेशमन्त्री जवाद जारिफले कुनै राज्यद्वारा गरिएको आतङ्कवादी कर्म” भन्दै हत्याको निन्दा गरेका छन् ।

इरानको गोप्य पारमाणविक कार्यक्रममा फख्रिजादेहको भूमिका रहेको पश्चिमा गुप्तचर निकायहरूको विश्वास रहिआएको छ । इरानले आफ्नो पारमाणविक कार्यक्रम नितान्त रूपमा शान्तिपूर्ण उद्देश्यका लागि रहेको बताउँदै आएको छ । गैरसैनिक ऊर्जा उत्पादन र सैनिक अस्त्र निर्माण दुवैका कार्यका लागि प्रवर्द्धित युरेनियम इरानमा महत्त्वपूर्ण मानिन्छ ।

यदि इरानले पारमाणविक अस्त्रहरूको विकास गर्न चाह्यो भने फख्रिजादेह इरानी बमका पिता ठहरिनेछन्,” सन् २०१४ मा एक पश्चिमा कूटनीतिज्ञले समाचार संस्था रोयटर्सलाई भनेका थिए ।

इरानले प्रवर्द्धित युरेनियमको बढ्दो मात्रामा विकास गरिरहेको ताजा चासोबीच वरिष्ठतम वैज्ञानिकको हत्याको समाचार बाहिर आएको हो ।

सन् २०१५ मा छवटा शक्ति राष्ट्रहरूसँग भएको सम्झौताले इरानको प्रवर्द्धित युरेनियम उत्पादनलाई सीमित तुल्याइदिएको थियो । तर सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो देशलाई सम्झौताबाट अलग गरेपछि इरानले पनि उक्त सहमतिलाई मान्न छोड्यो ।

Sharing

प्रतिक्रिया दिनुहोस