• २०८३ असार १३ गते शनिवार

महामारीकाबीच नेपालका कतिपय क्षेत्रहरुमा आशाको किरण देखियोः प्रधानमन्त्री ओली

खबर२४ नेपाल पढ्न लाग्ने समय : ३ मिनेट

मंसिर १३, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा महामारिको रुपमा फैलिएको कोरोना संक्रमणका कारण विश्वभर नै अर्थतन्त्र खुम्चिरहेको समयमा पनि नेपालमा भने महामारीका बिच पनि कतिपय क्षेत्रहरुले आशाको किरण देखाएको बताउनुभयो ।

न पे डिजिटल इकोनोमी कल्क्लेभलाई गर्नुभएको भर्चुअल सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले निकै अफ्ठेरो र अध्याँरो समयमा उज्यालो, सजिलो र प्रभावकारी पक्ष पनि छ है भन्ने सन्देश दिने गरी फोनपे डिजिटल इकोनोमी कन्क्लेभ आयोजना गरेकोमा आयोजकहरुलाई विशेष बधाई र शुभकामना दिनुभयो ।

उहाँले भन्नुभयो, ‘यो समय प्रतिकूल मात्र छैन । यही महामारीका बीच कतिपय क्षेत्रहरुले आशाको किरण देखाएका छन् । अहिले विश्वको ध्यान डिजिटल अर्थतन्त्रको खोज र विकासमा लागेको छ, यस क्षेत्रमा लगानी बढिरहेको छ, नयाँ आविष्कार र नव प्रवर्तन भइरहेका छन । कोरोनाले हरेक मानिसबीच दूरी बढाइदिएको समयमा डिजिटल कमर्श, डिजिटल पेमेन्टलगायतका पक्षहरु तपाईं हामीलाई जोड्ने माध्यम बनिरहेका छन् । समग्रमा, मैले डिजिटल क्षेत्र विश्वकै नयाँ र उच्चदरको आर्थिक बृद्धको माध्यम हुनसक्ने संभावना देखेको छु । जनसंख्याको ५० प्रतिशतको हाराहारी नेपालको युवा जनशक्तिको नवप्रवर्तनप्रतिको बढ्दो लगावले नेपालमा डिजिटल क्षेत्रको विकासमार्फत आर्थिक विकासलाई अगाडि बढाउन सकिने अझ बढी संभावना देख्दछु ।’

कोरोना महामारी नियन्त्रण गर्न बाध्यात्मकरुपमा लगाइएको बन्दाबन्दीले भौतिक सम्पर्कलाई निषेध गर्दा ई–कमर्श, अनलाइन सपिङ, डिजटिल बैंकिग र ई–लर्निंग लगायत डिजिटल उपचार, व्यवसाय र क्रियाकलापहरु नेपालका शहरी क्षेत्रहरूमा मात्र होइन, धेरै स्थानमा आम जीवनको अंग बनेको उल्लेख गर्दै उहाँले उक्त कुराहरुले नै नेपाललाई डिजिटल युगमा प्रवेश गर्न आधार दिएको बताउनुभयो ब्रोडब्याण्डमात्र होइन, मोबाइलमार्फत समेत इन्टरनेट प्रयोगकर्ता बढिरहेका कारण डिजिटल प्रणालीमैत्री वातावरणलाई सहज भइरहेको उहाँले बताउनुभयो छ ।

उहाँले भन्नुभयो, ‘मेरो नेतृत्वको सरकारले मन्त्रिपरिष्दको बैठकलाई कागजको प्रयोगरहित अर्थात् पेपरलेस बनाएको छ, सिंहदरबार र बालुवाटारमा एक्सन रुमहरु स्थापना गरी भर्चुअल प्रविधि प्रयोगको शुरुवात र अभ्यास गरेको छ, मैले सिंगापुरमा उपचारको क्रममा रहँदा मन्त्रिपरिषदका सदस्यहरुसँग भर्चुअल मिटिङ पनि गरेको यहाँहरुलाई सम्झना रहेको हुनुपर्दछ । त्यतिबेला कतिपय मानिसहरुले महत्व, औचित्य र आवश्यकता बुझ्न नसके पनि आज त्यसको सान्दर्भिकता र महत्व व्यवहारतः नै पुष्टि भएको छ । अहिले हामीले सिंहदरबारबाट ७५३ स्थानीय तह, ७७ जिल्ला र ७ वटै प्रदेशका उद्घाटन, शिलन्यास, अन्तक्रिया, समन्वयात्मक छलफल, परामर्श र सम्बोधन गर्नसक्छौं, यसमा डिजिटल प्रविधिको प्रयोगले हामीलाई धेरै सहज र मितव्ययी बन्न संभव तुल्याएको छ । विदेशस्थित नियोगहरु र नेपालीहरुमाझ मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमा पनि डिजिटल माध्यमबाट भर्चुअल सहभागिताको अभ्यास गरिरहेका छौं । यसरी डिजिटल प्रविधिको प्रयोग व्यापक रुपमा भइरहेको छ । नेपाल सरकारले पनि डिजिटल नेपालको अभियानअन्तर्गत सबै आर्थिक र गैरआर्थिक गतिविधिलाई डिजिटल माध्यममा रुपान्तरित गर्ने प्रयास गरिरहेको छ ।’

नेपाल सरकार मन्त्रिपरिषदले स्वीकृत गरी कार्यान्वयनमा ल्याइसकेको यस डिजिटल नेपाल खाकामा कृषि, स्वास्थ्य, शिक्षा, शहरी पूर्वाधार, ऊर्जा, पर्यटन, वित्त र डिजिटल फाउन्डेसन गरी ८ प्रमुख क्षेत्रहरुको पहिचान र प्राथमिकीकरण गरी कार्यान्वयनको प्रस्ताव गरिएको जानकारी गराउँदै उहाँले यी ८ क्षेत्रलाई समेटने गरी नेपाललाई आर्थिक– सामाजिक प्रगतितर्फ निर्देशित गर्ने उद्देश्यका साथ ८० डिजिटल पहलहरु पहिचान गरिएको उल्लेख गर्नुभयो।

डिजिटल प्रविधिको उपयोगबाट सेवा प्रवाह, उत्पादन र उत्पादकत्वमा बृद्धि गरी अर्थतन्त्रको बृहत्तर आयामको रुपान्तरण गरी आधुनिकीकरण गर्ने लक्ष्यसहित सरकारले डिजिटल नेपाल फ्रेमवर्क सार्वजनिक गरेको बताउँदै उहाँले मालपोत, विद्युत महशुल, आन्तरिक राजस्व, भन्सार महशुल, सवारी चालक अनुमतिपत्र र नवीकरणजस्ता नागरिकसँग प्रत्यक्ष जोडिएका सेवालाई एकीकृत सूचना प्रणालीमा आबद्ध गराउने प्रक्रिया शुरू भइसकेको छ । सरकारले राष्ट्रिय परिचयपत्रलाई सेवा प्रवाहको मुख्य आधार बनाउने गरी कामसमेत अगाडि बढाएको दावी गर्नुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस