असोज १२, काठमाडौँ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा आइतबार थप २९ सङ्क्रमित थपिएसँगै नगरपालिकाभित्र कोरोना सङ्क्रमितको कुल सङ्ख्या ८२५ पुगेको हो । वडा नं १ मा सबैभन्दा थोरै २१ र वडा नं ३ मा सबैभन्दा धेरै ९५ कोरोना सङ्क्रमित भेटिएका छन् । वडा नं २ मा ५१, वडा नं ४ मा ४३, वडा नं ५ मा ८६, वडा नं ६ मा ९१, वडा नं ७ मा ८०, वडा नं ८ मा ९४, वडा नं ९ मा ५५, वडा नं १० मा ६६ र वडा नं ११ मा ६२ सङ्क्रमित छन् ।

कोरोना सङ्क्रमितमध्ये ४४४ जना निको भएर घर फर्किसकेको, ३०४ जना होम आइसोलेसन र ६९ सङ्क्रमितको उपत्यकाका विभिन्न अस्पतालमा उपचार भइरहेको नगरपालिकाका प्रवक्ता बच्चुराज बस्यालले जानकारी दिनुभयो । तीमध्ये पाँचजना अहिलेसम्म सम्पर्कविहिन छन् । टोखामा हालसम्म कोरोना सङ्क्रमणका कारण तीनजनाको मृत्यु भइसकेको छ । वडा नं ४, ६ र ९ मा एक-एक जनाको मृत्यु भएको प्रवक्ता बस्यालले बताउनुभयो । काठमाडौँ महानगरपालिकापछि सबैभन्दा धेरै कोरोना सङ्क्रमित भएको नगरपालिका टोखा हो ।
नगरपालिकामा कोरोना सङ्क्रमितको दर बढेसँगै उक्त आइसोलेसन सेन्टरको समेत स्तरोन्नति गरिने नगरप्रमुख प्रकाश अधिकारीले बताउनुभयो । नगरपालिकाभित्रका ११ वटै वडामा टोखाले पिसीआर परीक्षणको दायरालाई समेत बढाएको छ । टोखाले प्रत्येक वडामा १०० जनाका दरले परीक्षण गरेको छ । नगरपालिकाले यसअघि नै कोरोना पोजेटिभ देखिएर होम आइसोलेसनमा बसेका बिरामीलाई प्रतिदिन रु ३५० भत्ता दिने निर्णयसमेत गरिसकेको छ ।