पौष १२, काठमाडौँ । नवनियुक्त सहरी विकासमन्त्री प्रभु साहले सरकारको पहिलो प्राथमिकता प्रतिनिधिसभा चुनाव गर्नु रहेको बताएका छन् । आज सहरी विकास मन्त्रालयको कार्यभार सम्हाल्दै मन्त्री साहले सरकारको पहिलो प्राथमिकता प्रतिनिधिसभाको निर्वाचन रहेको बताउदै मन्त्रालयले पनि निर्वाचन केन्द्रित काम गर्ने बताए ।
सरकारको मुख्य कार्यभार निर्वाचन प्रभावकारी बनाउनु भएकाले तोकिएकै समयमा निष्पक्ष रुपमा निर्वाचनमा केन्द्रित हुने मन्त्री साहको भनाइ छ ।
उनले भने, ‘‘यो सरकारको पहिलो प्राथमिकता प्रतिनिधिसभाको निर्वाचन गर्नु हो । मन्त्रालयको काम पनि निर्वाचन केन्द्रित गरेर गर्छौं । यो वर्षको बजेट आइसकेको छ । निर्धारित कार्यक्रम पनि बनिसकेको छ । त्यसैलाई प्रभावकारी ढंगले अगाडि बढाउने । भइरहेको कामलाई प्रभावकारी रुपमा अगाडि बढाउने । राष्ट्रका अगाडि मुख्य कार्यभार भनेको चुनाव प्रभावकारी गर्ने र तोकेकै समयमा निष्पक्ष ढंगले चुनावमा केन्द्रित हुन्छौं ।”