बैशाख १५, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना भाइरसको संक्रमणको परीक्षण गर्ने र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) विधि रोक्न सरकारसँग माग गरेको छ। सरकारले आरडीटी विधिबाट मुलुकभरका सबै जिल्लामा कोरोना परीक्षण गर्दै आएको छ।
पार्टी केन्द्रीय पदाधिकारी, पार्टीका पूर्वस्वास्थ मन्त्रीहरु एवं स्वास्थ्य क्षेत्रका बिज्ञहरुसहितको बैठकको सुझावका आधारमा कांग्रेसले र्यापिड टेस्ट रोक्न माग गरेको हो। ‘समुदायस्तरमा कोरोना परीक्षणलाई लैजानुपर्ने अनिवार्य आवश्यकता छ,’ कांग्रेसले भनेको छ, ‘तर र्यापिड टेस्टको विश्वसनीयतामा विश्वव्यापी प्रश्न उठिरहेको बेला त्यसलाई निरन्तरता दिने कार्य रोकिनुपर्छ र पीसीआरकै क्षमता र दायरा बढाइनु पर्दछ।’
कांग्रेस सभापति शेरबहादुर देउवाले पर्याप्त सुरक्षा सामग्री अभावकाबीच स्वास्थकर्मी र सुरक्षाकर्मीहरुले काम गरिरहेको भन्दै प्रशंसा गर्दै कोरोना परास्त गर्न स्वास्थकर्र्मीको नेतृत्व र सुरक्षाकर्मीको ंसमन्वय आवश्यक रहने बताएका थिए।
कांग्रेसले लकडाउनले कोरोनासंग जुध्न वातावरण निर्माण गरेपनि कोरोनाको जोखिम सामना गर्ने अन्य रणनीति बनाउन र कार्यान्वयनमा सरकार अयोग्य र सुस्त देखिएको दावी गरेको छ। कांग्रेसले कोरोनाविरुद्धको लडाइँका लागि सरकारलाई कामको गति बढाउन सुझाव दिएको छ।
स्वास्थकर्मी अझै पनि पीपीई लगायतका सामग्री अभावमा जोखिमपूर्ण ढंगले काम गरिरहेको उल्लेख गर्दै कांग्रेसले चाँडो गुणस्तरीय स्वास्थ्यसामग्रीको प्रवन्ध मिलाउन आग्रह गरेको छ।
साथै कांग्रेसले स्वास्थ्यकर्मीहरुलाई सरकारबाटै हतोत्साही बनाउने कार्य भइरहेको भन्दै आपत्ति जनाएको छ। ‘कतिपय बेला स्वास्थकर्मीलाई हतोत्साहित गर्ने र गरिएका जे जस्ता घटना भएका छन्, त्यसलाई गम्भीरतापुर्वक लिंदै यस्ता घटना देशभर कहिँपनि हुन नदिन सतर्कता र गम्भीरता जरुरी छ,’ कांग्रेसद्वारा जारी विज्ञप्तिमा भएिको छ।
त्यसैगरी अस्पतालमा संक्रमितको संख्या बढ्दै गएकाले जनशक्ति र उपकरणहरुको वृद्धिमा गति बढाउन जरुरी रहेको कांग्रेसको भनाइ छ। कोरोना संक्रमित विरामी र अन्य रोगका बिरामी एउटै अस्पतालमा उपचार गर्दा संक्रमण थप फैलिनसक्नेतर्फ कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ।
यस्तै अत्यावश्यक औषधिको अभाव हुन नदिन औषधि उत्पादन र आयातमा ध्यान दिन पनि सरकारलाई सुझाएको छ। गर्मीका कारण क्वारेन्टाइमा बसेकाहरुमा डेङ्गो, मलेरियालगायतका रोगको संक्रमण देखिन थालेकाले क्वारेन्टाइनको व्यवस्थापनतर्फ ध्यान दिन आग्रह गरेको छ। याे समाचार आजकाे अन्नपुर्ण पाेष्ट दैनिकमा रहेकाे छ ।