मंसिर ११, काठमाडौँ । भारतका विदेशसचिव हर्षवद्र्धन श्रृङ्गला नेपालको दुईदिने औपचारिक भ्रमण अन्तर्गत काठमाडौं आइपुग्नु भएको छ। उहाँ बिहीबार विशेष विमानमार्फत काठमाडौँ आइपुग्नु भएको हो
आज उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली लगायतका उच्चाधिकारीसँग शिष्टाचार भेट गर्नुहुने छ । साथै प्रमुख विपक्षी दल नेपाली काँग्रेसलगायत दलका उच्च नेतासँग भेट गर्नुहुने जनाइएको छ । भ्रमणकै क्रममा उहाँले भारत सरकारले सहयोग स्वरूप पठाएको कोभिड–१९ सँग सम्बन्धित स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुहुने छ ।
विशेषगरी उहाँको यो भ्रमण नेपाल–भारत संयुक्त आयोगको बैठकको तयारीका लागि केन्द्रित रहने भएकाले त्यस बैठकमा उठान गर्नुपर्ने विषयमा परामर्श हुने छ । नेपाल र भारतका परराष्ट्रमन्त्रीले नेतृत्व गर्नुहुने आयोगको छैटौँ बैठक अर्को महिना भारतको नयाँदिल्लीमा गर्ने तयारी भइरहेको छ ।
त्यस्तै नेपालको तराई क्षेत्रका सडकमार्ग स्तरोन्नति र पूर्वाधार निर्माण अन्तर्गतको हुलाकी सडक निर्माण, सीमा नाकामा चारवटा चेकपोस्ट निर्माण, नेपाल–भारत पेट्रोलियम पाइपलाइन, रेल्वे सेवा, खाद्य सुरक्षा, व्यापार वाणिज्य, अरुण तेस्रोसहितका विद्युत् उत्पादनलगायत विविध परियोजनामा दुई मुलुकबीच सहकार्य जारी छ ।