कात्तिक १०, काठमाडौं । नेपाली काग्रेसका सभावती शेर बहादुर देउवाले विजया दमीको अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ । उहाँले विजया दशमीको पावन दिनमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदी–बहिनी तथा दाजु–भाइहरुमा शुभ–कामना व्यक्त गर्नु भएको हो ।
उहाँले दशैं हाम्रो एक धार्मिक र सांस्कृतिक पर्व भएकाले अन्यायमाथि न्यायको तथा असत्यमाथि सत्यको विजयको शाश्वत सन्देश दिने यो पर्वलाई नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, सामाजिक सद्भाव, आपसी सहयोग र पारस्परिक एकताको रुपमा मनाउँदै आएको बताउनु भएको छ ।
उहाँले विजया दशमीको शुभकामनामा लेख्नुभएको छ आज विजया दशमीको पावन दिनमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदी–बहिनी तथा दाजु–भाइहरुमा हार्दिक शुभ–कामना व्यक्त गर्दछु ।
दशैं हाम्रो एक धार्मिक र सांस्कृतिक पर्व हो । अन्यायमाथि न्यायको तथा असत्यमाथि सत्यको विजयको शाश्वत सन्देश दिने यो पर्वलाई नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, सामाजिक सद्भाव, आपसी सहयोग र पारस्परिक एकताको रुपमा मनाउँदै आएको छ ।
नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक राष्ट्र हो । मौलिक भेषभूषा सहितका विविधता हाम्रो राष्ट्रिय पहिचान बनेका छन् । हामीमा निहित बन्धुत्व भावले विविधता बीचमा पनि अनुपम एकता कायम गरेको छ । विविधता बीचको एकता नेपालीको विशेषताको रुपमा विश्व प्रसिद्ध छ । विजया दशमीले समुदाय, संस्थाहरु, परिवार र ब्यक्ति—ब्यक्ति बीचको एकतालाई अझ मजबूत बनाउंदै आएको छ र बनाउनु पर्दछ ।
कोभिड–१९ को महामारीको चपेटामा विश्वसंगै नेपाल पनि आक्रान्त रहेको छ । यसको नियन्त्रणमा पर्याप्त समय हुँदाहुँदै पनि सरकार पुरै असफल भएको छ । आम जनताको स्वास्थ्य खतरामा परेको छ, अर्थतन्त्र धराशायी भएको छ । जनताको जीवन अत्यन्तै कठिन अवस्थाबाट गुज्रीरहेको छ । सरकार जनताका प्रति संवेदनहीन, गैर जिम्मेवार, अनुत्तरदायी र कर्तव्य विमुख देखिएको छ । देशमा सरकारको उपस्थिति नै नरहेको आभाष हुन थालिसकेको छ । कोभिड–१९ रोकथाममा सरकारले देखाएको उदासिनताका कारण बढ्दो संक्रमणलाई कम गर्न नागरिकहरु आफै पनि सचेत र सजग हुन जरुरी देखिएको छ । अतः हाम्रा सामाजिक सांस्कृतिक पर्वहरु मनाउँदा आफु र आफ्नो परिवारलाई सुरक्षित राख्नु होला भन्ने आग्रह गर्दछु ।
मठ मन्दिर जांदा मास्क अनिवार्य लगाउन, भौतिक दुरि कायम राख्न, घर—डेरामै सिमित रहेर पर्व मनाउन समस्त दिदिबहिनी—दाजुभाइमा म विनम्र अनुरोध र अपील गर्दछु !
आजको यो पुनीत अवसरमा म आफू र आफ्नो पार्टी नेपाली कांग्रेसको तर्फबाट स्वदेश तथा विदेश जहाँ रहनु भएको भए पनि सम्पूर्ण नेपाली दिदी–बहिनी तथा दाजु–भाइहरुमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभ–कामना व्यक्त गर्दछु ।
जय नेपाल !
