माघ १२, काठमाडौँ । कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टी केन्द्रीय कार्यसमितिले पास गरेको नेपाली विद्यार्थी संघ(नेविसंघ)को विधान विपरीत गरिएको तदर्थ समिति गठन गर्ने सहमति आफूलाई मान्य नहुने बताएका छन् । पार्टीमा सबैलाई मिलाएर जान कहिलेकाही भागवण्डाको सहमति गर्नु पर्ने भएपनि त्यो सहमति विधि र विधानको परिधिभित्र रहेर गर्नु पर्ने केसीले बताए। ‘पार्टीमा कहिलेकाही सबैलाई मिलाउन भागवण्डाको सहमति गर्नुपर्छ,’ केसीले भने, ‘तर, त्यो सहमति विधि र विधानको परिधिभित्र रहेर गर्नुपर्छ।’

शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेलसहितका शीर्ष नेताहरुबीच नेविसंघको तदर्थ समिति एक सय २७ सदस्यीय बनाउने र त्यसमा ९ महामन्त्री, तथा उपसभापति र सहमहामन्त्री ६/६ जना बनाउने सहमति भएको थियो।
केसीले एउटा निर्वाचित र अर्को मनोनित गरी २ जनामात्रै महामन्त्री रहने व्यवस्था कांग्रेस केन्द्रीय समितिले पास गरेको विधानमा रहेपनि, त्यो व्यवस्था विपरित शीर्ष नेताहरुले भागवण्डाका लागि नौ महामन्त्री बनाउने सहमति गरेको आरोप लगाए। ‘हामीले केन्द्रीय कार्यसमितिबाट पास गरेको नेविसंघ विधानमा निर्वाचित र मनोनित १/१ वटा गरी दुई महामन्त्री बनाउने व्यवस्था गरिएको छ। तर, भागवण्डा पुर्याउने नाममा नौ महामन्त्री बनाइएको छ,’ केसीले भने, ‘जुनसुकै नेताहरुको सहभागितामा भएको भएपनि त्यो सहमति मलाई मान्य छैन्। यसको विरुद्धमा सोमबारको केन्द्रीय कार्यसमितिमा धारणा राख्छु।’
नेताहरुबीचको यो सहमतिले कांग्रेसभित्र विधि र विधान मान्ने आन्तरिक लोकतन्त्र नभएको पुष्टि गर्ने केसीको भनाइ छ। ‘हामीले कांग्रेसलाई सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी भन्छौं,’ केसीले भने, ‘तर, भागवण्डा मिल्ने भयो भने नेताहरु विधि र विधान मिचेर जस्तोसुकै सहमति गर्छन। यस्तो भएपछि कसरी हामीले कांग्रेसमा आन्तरिक लोकतन्त्र छ भनेर बाहिर भन्ने?’